• २७ पुस २०८२, आइतबार

बालकल्याण माविको स्वर्ण कोषमा ९० लाख संकलन

blog

विद्यालयलको स्वर्ण महोत्सवमा चन्दा दातालाई सम्मान गर्दै नगरप्रमुख गुमानसिंह अर्याल । तस्बिरः नवीनराज कुइँकेल

नवीनराज कुइँकेल

लमजुङ, पुस २७ गते । बेंसीसहर नगरपालिका –२, भकुण्डेस्थित बालकल्याण माध्यमिक विद्यालयको स्वर्ण कोषमा करिब ९० लाख रुपियाँ संकलन भएको छ ।

विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि र भौतिक पूर्वाधार विकासका लागि आयोजित स्वर्ण महोत्सवको अवसरमा देश–विदेशका शुभेच्छुकबाट उक्त रकम संकलन भएको हो । 

विद्यालयले ३ दिन स्वर्ण महोत्सव आयोजना गरेको थियो । महोत्सवका क्रममा बेंसीसहर नगरपालिका –२ भकुण्डेका विष्णुलाल श्रेष्ठ र उहाँको पत्नी दुर्गा श्रेष्ठले सबैभन्दा बढी ५ लाख ५५ हजार ५ सय ५५ रुपियाँ सहयोग गर्नुभएको छ । पूर्व विद्यार्थीसमेत रहनुभएका श्रेष्ठ स्वर्ण महोत्सवअन्तर्गत गठन गरिएको गैरआवासीय नेपाली सम्पर्क समन्वय उपसमितिका संयोजक हुनुहुन्छ । हाल युएईमा कार्यरत उहाँ सामाजिक सेवामा सक्रिय हुनुहुन्छ ।

विद्यालयका संस्थापक तथा आर्थिक संकलन उपसमितिका संयोजक कोषलेन्द्र कँडेलले ५ लाख ५५ हजार ५ सय ५४ रुपियाँ, महोत्सव संयोजक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मदनबहादुर रानाले ३ लाख ५५ हजार ५ सय ५५ रुपियाँ सहयोग गर्नुभएको छ । 

यस्तै, हाल अमेरिकामा रहनुभएका काजीराम थापाले ३ लाख ११ हजार १ सय ११ रुपियाँ दान गर्नुभएको विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद बरालले जानकारी दिनुभयो । 

उहाँका अनुसार तिहारअघि सञ्चालन गरिएको घरदैलो अभियानबाट करिब ७६ लाख रुपियाँ संकलन भइसकेको थियो । बाँकी रकम स्वर्ण महोत्सवको अबसरमा जुटेको हो । बेंसीसहर नगरपालिकाले स्वर्ण गेट निर्माणका लागि ४ लाख रुपियाँ र वडा कार्यालयले स्वर्ण महोत्सवका लागि २ लाख रुपियाँ बजेट विनियोजन गरेको छ ।

विद्यालयलाई दीर्घकालीन रुपमा आधुनिक, गुणस्तरीय र अभिभावकको पहिलो रोजाइको शिक्षालयका रुपमा विकास गर्ने उद्देश्यले स्वर्ण कोष स्थापना गरिएको जनाइएको छ । उक्त कोष डिजिटल शिक्षण–सिकाइ, शिक्षक सक्षमता विकास, भौतिक पूर्वाधार सुधार, नयाँ भवन निर्माण, पुस्तकालय तथा सभाहल, बाल उद्यान निर्माणलगायत योजनामा खर्च गरिने विद्यालयले जनाएको छ । 

वि.सं. २०३२ सालमा स्थापना भएको यस विद्यालयबाट हालसम्म करिब ४ हजार विद्यार्थीले अध्ययन गरिसकेका छन् । तीमध्ये १ हजार २८ जनाले एसइई–एसएलसी उत्तीर्ण गरेका छन् । करिब ३ सय जनाले कक्षा १२ पास गरिसकेका छन् ।