• २७ पुस २०८२, आइतबार

सडक मर्मत समूह निर्देशिका स्वीकृत

blog

मन्त्रीपरिषद् बैठक ।

अविनाश चौधरी

धनगढी, पुस २७ गते । सुदूरपश्चिमको मन्त्रीपरिषद्ले सडक मर्मत समूह निर्देशिका स्वीकृत गरेको छ । आज बसेको मन्त्रीपरिषद् बैठकले सुदूरपश्चिम प्रदेशमा सडक मर्मत प्रणालीलाई संस्थागत रुपमा लागु गर्न निर्देशिका स्वीकृत गरेको हो । 

प्रदेश सरकारले निर्माण गरेको कालोपत्रे सडकहरुको नियमित मर्मत सम्भारका लागि मर्मत समूहमार्फत मर्मत कार्य गरिने मुख्यमन्त्रीका प्रेस तथा जनसम्पर्क सल्लाहकार डम्मर बमले जानकारी दिनुभयो । 

सरकारले प्रत्येक वर्ष करिब दुईसय किलोमिटर कालोपत्रे सडक निर्माण गर्दैआएको छ । नियमित मर्मत सम्भार भएमा सडकको आयु लामो हुने प्रदेश सरकारको अपेक्षा छ । 

यसैगरी, सरकारले सुदूरपश्चिम प्रदेश जनस्वास्थ्य ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गरेको छ । बैठकले सुदूरपश्चिम प्रदेश वृत्तिमार्ग निर्देशन सेवा सञ्चालन कार्यविधि, २०८२ स्वीकृत गर्ने निर्णय गरेको छ । 

यसैगरी, सरकारले साउन २३ गते कैलाली कारागारमा दुई समूहबिच भएको झडपमा परी ज्यान गुमाएका कैदीबन्दी भरत चौधरीको परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ । यस प्रदेश सरकारले चौधरीको परिवारलाई पाँच लाख रुपियाँ राहत प्रदान गरेको थियो ।