• २७ पुस २०८२, आइतबार

बर्दियामा पन्छी गणना हुँदै

blog

चरा गणनाका लागि तयारी बैठक बस्दै ।

यज्ञप्रसाद सापकोटा

गुलरिया (बर्दिया), पुस २७ गते । बर्दियामा हरेक वर्ष हुँदैआएको जलपन्छी गणना सोमबारदेखि हुने भएको छ । जलपन्छी गणनाका लागि सरोकारवाला निकायको बिचमा समन्वय बैठक बसी सोमबारदेखि गणना गर्ने निर्णय गरिएको हो ।  

आगामी पुस २८ र २९ गते जलपन्छी गणना गर्ने निर्णयसहित तयारी गरिएको बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत सरोजमणि पौडेलले बताउनुभयो । 

उहाँले  जलपन्छी गणना गर्नका लागि बर्दिया राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष, निकुञ्जको सुरक्षामा तैनाथ जबरजंग गण, नेचर गाइड एशोसिएसन, पर्यापर्यटन विकास मञ्च, होटल एशोसिएसन, बर्दिया नेचर कन्जरभेसन क्लब, उज्यालो नेपाल, मध्यवर्ती क्षेत्र व्यवस्थापन परिषद्, चोरी सिकार नियन्त्रण युवा परिचालन अभियान, नेपाल पन्छी संरक्षण सङ्घ र जेडएस एल नेपालको सहयोग रहने बताउनुभयो । 

सम्पूर्ण सङ्घ संस्थाहरूको संयुक्त लगानी र सहभागितामा पन्छी गणना गरिने उहाँले बताउनुभयो । बर्दियाको कर्णाली र गेरुवा नदी, बबई नदी, बढैयाताल, सतखलुवा ताल लगायतका क्षेत्रमा जलपन्छी  गणना गरिने पन्छीविद् सङ्घका केन्द्रीय सदस्य रामबहादुर शाहीले बताउनुभयो । उहाँले जलपन्छी गणनाका लागि ६० जनाको सहभागिता हुने  बताउनुभयो । 

गत वर्ष पनि बर्दियामा जलपन्छी गणना गरिएको थियो । गत वर्षको चरा गणनामा बर्दियामा तीन हजार आठसय ८९ वटा जलचरा भेटिएका छन् । जसमध्ये बढैयातालमा सबैभन्दा बढी दुई हजार एकसय ४९ वटा, कर्णाली नदीमा नौसय १८ र गेरुवा नदीमा आठसय २२ वटा फेला परेका थिए ।