ठाकुरप्रसाद आचार्य
म्याग्दी, पुस २७ गते । म्याग्दीको बेनी नगरपालिका-९, गलेश्वरधामस्थित ज्येष्ठ नागरिक आश्रमका महिलाहरूलाई लक्षित गरेर सञ्चालन गरिएको स्त्रीरोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविरमा ८२ जना वृद्धा महिलाले उपचार सेवा पाएका छन् ।
गलेश्वरधाम आमा समूहको आयोजनामा तथा बेनी अस्पतालको सहयोगमा सञ्चालन गरिएको एकदिने शिविरमा ८२ जना महिलाले स्त्रीरोग सम्बन्धी स्वास्थ्य परीक्षण, परामर्श तथा निःशुल्क औषधी सेवा प्राप्त गरेका हुन् ।
गलेश्वरधाम ज्येष्ठ नागरिक आश्रममा आश्रित वृद्धा महिला तथा गलेश्वर बजार आसपास क्षेत्रका स्थानीय महिलाहरूलाई लक्षित गरी सञ्चालन गरेको शिविरमा स्त्रीरोग सम्बन्धी स्वास्थ्य परीक्षण, परामर्श तथा औषधी सेवा लिएको आमा समूहकी सचिव निशा महत जिसीले जानकारी दिनु भयो ।
शिविरमा बेनी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.हेमन्त बाँस्तोलाको नेतृत्वमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको टोलीले सेवा प्रदान गरेको थियो ।
शिविरमा स्त्रीरोग सम्बन्धी समस्या पहिचान, उपचार परामर्श तथा आवश्यक औषधी वितरण गरिएको थियो । शिविरमा बेनी नगरपालिकाकी उपप्रमुख ज्योति लामिछाने, बेनी नगरपालिका–९ का वडाध्यक्ष चक्रबहादुर केसी र गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले महिलाको स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको शिविरबाट आश्रममा बसोवास गर्नुहुने ज्येष्ठ नागरिकहरू लाभान्वित भएको बताउनु भयो ।
समूहकी अध्यक्ष फूलकुमारी रोकाले महिलाको स्वास्थ्य समस्या अझै पनि समाजमा खुलेर भन्न नसकिने विषय भएको उल्लेख गर्दै शिविरले महिलालाई समयमै स्वास्थ्य जाँच गराउन प्रेरित गर्ने बताउनु भयो । उहाँले महिलाको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै आगामी दिनमा शिविरको आयोजना गरिने बताउनु भयो ।
शिविरमा भिआइए परीक्षण गरिएकामध्ये एक जनामा पिसाब थैलीमा समस्य, दुई जनामा आङ खस्ने समस्या र दुई जनाको रिङ राखिएको डा. बास्तोलाले जानकारी दिनु भयो । डा. बास्तोलाका अनुसार तीमध्य जटिल समस्या भएका एक जना आङ खसेकी महिलालाई अप्रेसनका लागि प्रादेशिक अस्पताल बेनीमा पुर्याइएकाे छ ।