पुरुषोत्तम सुवेदी
पश्चिम नवलपरासी, पुस २७ गते ।पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीहरूको स्थायी व्यवस्थापनका लागि जग्गाको निस्सा वितरण कार्यलाई तीव्रता दिइएको छ ।
गाउँपालिकाभरि रहेका कुल तीन हजार १०२ भूमिहीन तथा अव्यवस्थित बसोवासीहरूलाई लालपुर्जा वितरण गर्ने लक्ष्य अनुरूप पहिलो चरणमा जग्गाको निस्सा वितरण र जग्गा नापजाँचको कार्यलाई तीव्रता दिइएको हो ।
गाउँपालिका अध्यक्ष सुखाडि प्रसाद चौधरीले भूमिहीनहरूको समस्या समाधान गर्न वितरण गरिएको निस्सा केवल कागजको टुक्रा मात्र नभइ लालपुर्जा पाउने बलियो आधार र राज्यसँगको अधिकारको प्रमाण भएको बताउनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतमले प्रक्रियालाई पारदर्शी र त्रुटिरहित बनाउन कर्मचारी संयन्त्र खटिएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “भूमि आयोगको कार्यविधि अनुसार हामीले वास्तविक पीडितको पहिचान गरी तथ्याङ्क सङ्कलन र प्रमाणीकरणको कामलाई अन्तिम चरणमा पुर्याएका छौँ। निस्सा वितरणसँगै अब प्राविधिक टोलीले फिल्डमै पुगेर जग्गाको सीमाङ्कन गर्नेछ।”