• २७ पुस २०८२, आइतबार

जाजरकोटमा १८ जना कुष्ठरोगी उपचारको दायरामा

blog

सहदेव बस्नेत 

जाजरकोट, पुस २७ गते । जिल्लाका सबै स्थानीय तहमा कुष्ठरोगका बिरामीको प्रमाणिकरण तथा खोजपड्ताल गर्दा १८ जना  बिरामीको पहिचान भएको छ ।

 स्वास्थ्य सेवा कार्यालय, जाजरकोटका जनस्वास्थ्य तथा परिवार कल्याण शाखा प्रमुख जनस्वास्थ्य अधिकृत रमेश कार्कीले जिल्लामा हालै गरिएको प्रमाणिकरण तथा खोजपड्तालबाट  १८ जना बिरामीको पहिचान भएको बताउनु भयो । 

पहिचान भएका बिरामीमा नलगाड नगरपालिकामा ६ जना, छेडागाड नगरपालिकामा ५ जना, जुनिचाँदे गाउँपालिकामा ३ जना पाइएको छ । 

त्यस्तै भेरी नगरपालिकामा २ जना  र बारेकोट गाउँपालिकामा २ जना गरी जिल्लामा जम्मा १८ जना बिरामीको पहिचान भएको कार्कीले जानकारी दिनुभयो ।

पहिल्यै दर्ता भएका कुष्ठरोगका बिरामीको पुनः परीक्षण, उपचारको निरन्तरता, औषधि सेवनको अवस्था तथा अपाङ्गता रोकथाम सम्बन्धी अवस्थाको मूल्याङ्कन गरिएको थियो । 

जनस्वास्थ्य मापदण्ड अनुसार प्रति १० हजार जनसङ्ख्यामा १ भन्दा बढी कुष्ठारोगी भएमा जनस्वास्थ्य समस्याको रूपमा लिने गरिएको छ ।

 देशका पहाडी जिल्लाहरू मध्ये जाजरकोट जिल्लामा कुष्ठरोगको भार उच्च रहेको बताइएको छ ।बिरामीले नियमित रूपमा औषधि सेवन गरेमा कुष्ठरोग पूर्ण रूपमा निको हुने तथा अपाङ्गता हुनबाट बच्न सकिन्छ कार्कीले जानकारी दिनुभयो ।

सही समयमा रोगको निदान नहुँदा तथा अन्य उपचार विधि अपनाउँदा उपचार खर्चिलो हुने गरेको बताउँदै कार्कीले नेपाल सरकारले तोकेका स्वास्थ्य संस्थामा कुष्ठरोगको निःशुल्क निदान तथा सम्पूर्ण सरकारी स्वास्थ्य संस्थामा निःशुल्क औषधि उपलब्ध रहेको जानकारी दिनुभयो ।

 कुष्ठरोग कुनै पाप, धर्म वा अन्धविश्वाससँग सम्बन्धित रोग नभएको बताउँदै कार्कीले व्यक्ति, परिवार, समाज, जनप्रतिनिधि लगायत सबै सरोकारवालाले यस रोग सम्बन्धी अन्धविश्वास र लाञ्छना विरुद्ध बुझेर समुदायमा सचेतना फैलाउन अपिल गर्नु भएको छ ।

 स्वास्थ्य सेवा कार्यालय जाजरकोटको समन्वय र स्वास्थ्य सेवा निर्देशनालय, सुर्खेतको आयोजनामा जिल्लाका सातवटै स्थानीय तहमा कुष्ठरोगका बिरामीको प्रमाणिकरण तथा खोजपड्ताल गरिएको हो ।