• २७ पुस २०८२, आइतबार

मध्यरातमा बाटोमै सुत्केरी

blog

बाटोमै सुत्केरी भएकी सुशीला परियारको उद्धार गरिँदै । तस्बिर : राजन रावत

हुम्ला समाचारदाता

हुम्ला, पुस २७ गते । शुक्रबार राति हुम्लामा एक महिला बाटोमै सुत्केरी हुनुभएको छ । घरमा सुत्केरी बेथा लागेर जिल्ला अस्पतालको प्रसूतिगृहतर्फ लैजाँदै गर्दा खार्पुनाथ–४, छिप्रागाउँ घर भई हाल सिमकोट गाउँपालिका–६ को लादेबाडा बस्ने २२ वर्षीय सुशीला परियार राति ११ बजे बाटोमै सुत्केरी हुनुभएको हो । 

बाटोमै सुत्केरी भएपछि तत्काल उहाँको उद्धार गरिएको छ । शुक्रबार राति माइनस आठ डिग्री सेल्सियस चिसोमा बाटोमै सुत्केरी भएकी परियारलाई उद्धार गरिएको उद्धारमा खटिएकी सञ्चारकर्मी छपाल लामाले बताउनुभयो । चिसोमा परियारलाई रेडियो कैलाश, स्नोल्यान्ड एकीकृत विकास केन्द्र र वानहट वल्र्डवाइडका कर्मचारीको सहयोगमा उद्धार गरिएको हो । 

राति अचानक सुत्केरी बेथा लागेपछि अस्पताल लैजाने क्रममा माथिल्लो बजारको पदमा फर्निचरनजिकै बाटोमै परियार सुत्केरी हुनुभएको थियो । उहाँलाई तत्काल सदरमुकाम सिमकोटको कालीचोक पु¥याएर जिल्ला अस्पतालको एम्बुलेन्समार्फत सुरक्षित रूपमा अस्पतालसम्म पु¥याइएको थियो । सुरक्षित उद्धार गरिएपछि आमा र नवजात शिशु दुवैको स्वास्थ्य अवस्था राम्रो रहेको अस्पतालले जनाएको छ ।