रमेश विश्वकर्मा
गुल्मी, पुस २७ गते।गुल्मीको सदरमुकाम तम्घासस्थित सहिद चोकमा कल्भर्ट पुन :निर्माणको कार्य तीव्र रुपमा अगाडि बढेको छ। निकै व्यस्त देखिने यहाँको कल्भर्ट जीर्ण बन्दै गएपछि भत्काएर पुनः नयाँ पक्की कल्भर्ट निर्माण गर्न थालिएको थियो।
रेसुङ्गा नगरपालिकाको वडा १ र ८ लाई जोड्ने यो कल्भर्ट निर्माणका लागि सङ्घीय सरकारको सशर्त अनुदानको ४० लाख रुपियाँ लागतमा रेसुङ्गा नगरपालिकाले ठेक्का आह्वान गरेको थियो।
ठेक्कामार्फत् खड्गदेवी बिल्डर्स एण्ड सप्लायर्स प्रालिले भ्याटसहित ३७ लाख ७४ हजार १८७ रुपियाँ ३१ पैसा लागतमा सात मिटर लम्बाइको कल्भर्ट निर्माण गर्नेगरी सम्झौता गरेको हो।
निर्माण सुरु भएको २५ दिनमा दुवै तर्फको पलम वाल निर्माणको कार्य सकिएको छ। २०८३ असार १५ गतेभित्र कल्भर्ट निर्माणको कार्य सम्पन्न गर्ने सम्झौतामा भएता पनि अब २५ दिनमा सबै निर्माण कार्य सम्पन्न गर्ने निर्माण व्यवसायी खुम खत्रीले बताउनुभयो। भुइँ ढलान र सेल्प ढलान काम मात्र बाँकी छ।
गुणस्तरसहित कल्भर्ट निर्माणका लागि स्काभेटर, जेसिबि–एक, टिप्पर–एक र दैनिक कामदार–१५ जना प्रयोग गरिएको उहाँले बताउनुभयो। सबैको सकारात्मक सहयोग भएका कारण कल्भर्ट निर्माण तीव्र गतिमा अगाडि बढेको हो।
यहाँ कल्भर्ट निर्माणको काम भइरहेको हुँदा सवारी साधनले वैकल्पिक सडक प्रयोग गरेका छन्।साना सवारीसाधन अर्जुन किराना पसल–होटल सौर्य इन हुँदै पुरानो बजार सडक र रमाइलो होटल–महेन्द्र मावि–टेलिकम चोक हुँदै चिदीचौर सडक प्रयोग गरेका छन्।
ठूला सवारी साधनले मिलन चोक–पुतली बजार भानुचोक–पुरानो बजार हुँदै एसबिआई बैंक–प्रशासन कार्यालय गेट र सेतो गुराँस–धागीथूम–बाख्रेछेँडा–छापटोला–खानीगाउँ चोक–चिदिचौर हुँदै प्रशासन कार्यालय गेट प्रयोग गरेका छन्।