बेलौरी समाचारदाता
बेलौरी (कञ्चनपुर), पुस २७ गते । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले ‘मिलीजुली खाऊँ’ भन्ने प्रवृत्तिको अन्त्य गर्न आवश्यक रहेको बताउनुभएको छ ।
शनिबार महेन्द्रनगरस्थित राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्थाको २४ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री सार्कीले सो कुरा बताउनुभएको हो । विकास योजनाका बजेटमा मिलीजुली खाने तथा विकास न्यून हुने विषयमा उठेका सवालको जवाफ दिँदै मन्त्री सार्कीले यस्तो प्रवृत्तिको अन्त्य गर्न जरुरी रहेको बताउनुभयो ।
अनुदानका कार्यक्रममा कमिसन खाएर मात्रै काम हुँदै आएको भन्ने विगतका वर्षदेखि नै चल्दै आएको गलत भाष्यलाई चिर्नका लागि मन्त्री सार्कीले बजेट विनियोजनका विषयमा मन्त्रालय सदैव गम्भीर रहेको बताउनुभयो । “विगतका वर्षमा एउटै सहकारीले ३–४ पटक अनुदान पाएको स्थिति देखिन्छ,” मन्त्री सार्कीले भन्नुभयो, “लेनदेनका विषयको म सख्त विरोधी हु ।”
मन्त्री सार्कीले कुनै पनि काम गर्दा मन्त्रालय तथा कर्मचारी मिलेर खाने प्रवृत्तिको पनि अन्त्य गर्न खोजको बताउनुभयो । “जनताको हित र विकास गर्नका लागि म आएको हुँ,” मन्त्री सार्कीले भन्नुभयो, “कसैको लोभ, कमिसनमा बिक्न मन्त्री भएको होइन ।”
मन्त्री सार्कीले जनताको हित र विकासमा केन्द्रित भएकाले कसैको लोभमा नबिक्ने स्पष्ट पार्नुभयो । मन्त्री सार्कीले छिट्टै आमसञ्चार विधेयक पारित गरिनेसमेत बताउनुभयो । संस्थाका निवर्तमान अध्यक्ष पूर्ण कुँवरले सहकारीले सञ्चालनमुखी भए धेरै समय नटिक्ने भएकाले सदस्यमुखी हुनुपर्नेमा जोड दिनुभयो ।
साधारण सभामा बोल्दै केन्द्रीय लेखा आयोगका सचिव ईश्वरीप्रसाद खरेलले प्रदेश सरकारबाट बजेट हाल्नका लागि कमिसन बुझाउनुपर्ने अवस्था रहेको आरोप लगाउनुभयो । प्रदेश सरकारप्रति उठेका प्रश्न चिह्नको विषयमा सहकारीप्रति सरकारले स्पष्ट धारणा राख्नुपर्ने उहाँले माग गर्नुभयो । यसै गरेर नेपाल निजामती कर्मचारी सङ्घका केन्द्रीय सदस्य प्रताप चन्दले यस राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्थाको नयाँ भवन निर्माणका लागि ४० लाख छुट्टाउन मन्त्री सार्कीसमक्ष माग गर्नुभएको थियो ।
सुरुमा २५ लाख माग गरिए पनि त्यो अपुग हुने देखिएकाले प्रदेश सरकारलाई ४० लाख उपलब्ध गराउन उहाँले माग गर्नुभयो । राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेड कञ्चनपुरमा २५९ महिला र ५३६ पुरुष गरी ८०४ सेयर सदस्य रहेका छन् । सहकारी संस्थाका अध्यक्ष गङ्गादत्त जोशीका अनुसार संस्थाको सेयर पुँजी रकम पुस १५ गतेसम्म एक करोड तीन लाख २७ हजार चार सय पुगेको छ । यसै गरेर यस संस्थाको पुस १५ गतेसम्म २७ लाख ७८ हजार ४८ रुपियाँ बचत रहेको उहाँले बताउनुभयो ।
वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष जोशीले संस्थाको जम्मा निक्षेप दुई करोड ६२ लाख २९ हजार ३५७ रुपियाँ रहेको बताउनुभयो । साधारण सभामा आर्थिक प्रतिवेदन संस्थाका कोषाध्यक्ष लालबहादुर विष्टले प्रस्तुत गर्नुभयो । यसै गरेर संस्थाको लेखा प्रतिवेदन धनबहादुर खड्काले प्रस्तुत गर्नुभएको थियो ।