अनिल पराजुली
हेटौँडा, पुस २७ गते । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले विश्वव्यापिकरण र ध्रुवीकरणको वर्तमान परिवेशमा राष्ट्रिय एकता मजबुत बनाउँदै देश र जनताको साझा हितमा अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।
३०४ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै उहाँले यस्तो धारणा व्यक्त गर्नुभएको हो ।
प्रदेश प्रमुख देवकोटाले पृथ्वीनारायण शाहजस्ता व्यक्तित्वबाट अस्तित्व, गौरव र इतिहासको सम्मान गर्दै राष्ट्रिय स्वार्थका सवालमा राजनीतिक दल र नागरिक समाज एकताबद्ध बन्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “हामी फुटेर होइन जुटेर अघि बढ्नुपर्छ, अन्यथा इतिहासले हामीलाई धिक्कार्नेछ । स्वतन्त्रता र सार्वभौमसत्ता हाम्रो प्रमुख चासोको विषय हो ।”
पृथ्वीनारायण शाहको दूरदर्शिता, दिव्योपदेश र कार्यशैली आजका लागि पनि प्रेरणादायी रहेको उल्लेख गर्दै प्रदेश प्रमुखले शाहद्वारा प्रतिपादित ‘सुन्दर फूलबारी’ को परिकल्पनामा राष्ट्रहित र समृद्धिको भाव समाहित रहेको बताउनुभयो ।
उहाँले पृथ्वीनारायण शाहका दूरदर्शी विचारहरूलाई आत्मसात गर्नु आजको अपरिहार्य आवश्यकता भएको टिप्पणी गर्नुभयो ।
नेपाललाई विभिन्न भागमा टुक्रिएको अवस्था र आपसी द्वन्द्वका शृङ्खला समाप्त गर्दै स्वाधीन र स्वाभिमानी नेपाल निर्माण गर्ने पृथ्वीनारायण शाहको योगदान इतिहासमा सधैँका लागि स्वर्ण अक्षरमा अङ्कित रहेको प्रदेश प्रमुखको भनाइ छ ।
शाहले बसालेको भौगोलिक, जातीय, भाषिक, धार्मिक र भावनात्मक एकताको जग आजको राष्ट्रिय एकता, सहिष्णुता र मेलमिलापको आधार बनेको उहाँले स्पष्ट पार्नुभयो ।
राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा प्रदेश प्रमुख देवकोटाले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गर्दै पृथ्वीनारायण शाहप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।