• २७ पुस २०८२, आइतबार

बिपी राजमार्गको पुनर्निर्माण तीव्र

blog

बाढीले क्षतिग्रस्त बिपी राजमार्ग पुनर्निर्माण गरिँदै । तस्बिर : केदार तिमल्सिना

केदार तिमल्सिना 

बनेपा (काभ्रेपलाञ्चोक), पुस २७ गते । गत वर्षको असोजमा आएको बाढीका कारण क्षतिग्रस्त बिपी राजमार्गको पुनर्निर्माणले गति लिएको छ । राजमार्गको पुनर्निर्माण दुई वर्षभित्र सम्पन्न गर्नका लागि सडक डिभिजन भक्तपुरले काभ्रेपलाञ्चोकतर्फ चार खण्डमा विभाजन गरेर काम सुरु गरेको हो । 

सडक डिभिजन भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले बाढीले क्षतिग्रस्त बिपी राजमार्ग पुनर्निर्माणका लागि अहिले तीन खण्डमा काम सुरु गरिएको जानकारी दिनुभयो । पुनर्निर्माणका लागि तीन छुट्टाछुट्टै निर्माण व्यवसायी कम्पनीले कार्यक्षेत्रमा खटेर काम सुरु गरेका छन् । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले पुनर्निर्माण गर्ने एक खण्डको काम भने सुरु हुन नसकेको उहाँले बताउनुभयो । 

सिनियर डिभिजनल इन्जिनियर योगेशले गत वर्षको बाढीले क्षति गरेको स्थानमा आरसिसी पर्खाल लगाउने काम सुरु गरेको बताउनुभयो । राजमार्ग अन्तर्गतको चौकीडाँडामा खोलाबाट पर्खाल लगाउने कार्यसमेत सुरु भएको छ । उहाँले भन्नुभयो, “बिपी राजमार्गको पुनर्निर्माण अन्तर्गत नै अहिले चार सयबेँसी र भकुन्डेबेँसीमा आरसिसी पर्खालसाथै सडक चौडा बनाएका स्थानको भित्तामा मेसिनरी पर्खालसहित कतै प्लम्प पर्खाल लगाउने काम सुरु भएको छ ।” 

उहाँले डालाबेँसी, मङ्गलटार खण्ड, चार सयबेँसीदेखि नार्के खण्डमा सडक चौडा बनाउने कामसमेत भइरहेको बताउनुभयो । “गत वर्ष र यस वर्षको बाढीले वास आउट (सडक पूर्ण क्षति) भएको छ, त्यो ठाउँमा गत वर्षको जस्तो आउने बाढीले क्षति नगर्ने संरचना निर्माणको डिजाइन गरेका छौँ । हामीले आगामी वैशाखसम्म बाढीले क्षति गरेका स्थानमा संरचना निर्माण गरिसक्ने गरी काम अघि बढाएका छौँ,” इन्जिनियर योगेशले भन्नुभयो । 

उहाँले वैशाखभित्र सबै संरचना तयार गरी आउने वर्षायाममा खोला किनारबाट यातायातका साधन गुडाउन नपर्ने गरी साबिककै स्थानबाट यातायात सञ्चालन गर्ने गरी सडकको काम भएको बताउनुभयो । यस वर्ष क्षतिग्रस्त स्थानमा संरचना निर्माण गर्ने, सडक चौडा गर्नेलगायतको काम सम्पन्न गर्ने र आगामी वर्ष बाँकी रहेका केही स्थानमा संरचना बनाई कालोपत्रे गर्ने गरी कामलाई तीव्रता दिइएको उल्लेख गर्नुभयो । 

विगतमा सडक निर्माण गर्दा खोलामा आउने बाढीले खोतल्न सक्ने कुराको विश्लेषण नगरी सडक बनाउँदा बाढीले ठुलो क्षति गरेको थियो । अब पुनर्निर्माण गर्दा बाढीले खोतल्न नसक्ने गरी खोलाको भित्री भागबाट संरचना निर्माण गरिने उहाँको भनाइ छ । उहाँले अहिलेको कामको गति हेर्दा सडक पुनर्निर्माण गर्ने क्रममा जग्गाको विवाद, खानेपानी, बिजुलीका पोल स्थानान्तरण गर्ने विषयमा विवाद नहुने हो भने दुई वर्षभित्र सडक पुनर्निर्माण सम्पन्न हुने बताउनुभयो । 

सडक डिभिजन भक्तपुरले गत वर्ष र यस वर्षको बाढीबाट पूर्ण रूपमा क्षति भएको राजमार्गलाई दुई लेनमा पुनर्निर्माण गर्ने भएको हो । भकुन्डेबेँसीदेखि नेपालथोकसम्मको २९.५ किलोमिटर सडकलाई नौ मिटरमा विस्तार गर्ने छ । डालाबेँसीदेखि चार सयबेँसीसम्मको ८.५ किलोमिटर सडक पुनर्निर्माणका लागि खानी, कमलजित/एवान जेभीसँग एक अर्ब २२ करोड रुपियाँको ठेक्का सम्झौता भएको छ । 

त्यस्तै गरी चार सयबेँसीदेखि भकुन्डेबेँसीसम्मको ११ किलोमिटर सडक पुनर्निर्माणका लागि लामा, नवकान्तिपुर जेभीसँग एक अर्ब १४ करोड रुपियाँमा ठेक्का सम्झौता भएको छ । यस्तै डालाबेँसीदेखि सुक्खा पहिरोसम्मको २.२ किलोमिर सडक पुनर्निर्माणका लागि उमा, भण्डारी, अमरज्योति जेभीसँग ६८ करोड ५८ लाख रुपियाँमा ठेक्का सम्झौता भई काम सुरु भएको हो । 

जाइकाले राजमार्गको पिप्ले (सुक्खा पहिरो) देखि डालाबेँसीसम्मको करिब तीन किलोमिटर सडक पुनर्निर्माण गर्ने भएको हो । जाइकाले सडक पुनर्निर्माणका लागि अध्ययन गरिरहेको सडक डिभिजन भक्तपुरले जनाएको छ ।