प्रतीक इच्छुक शर्मा
सल्यान, पुस २७ गते । सल्यान जिल्लाकै प्रमुख व्यापारिक केन्द्र श्रीनगरमा निर्माण सम्पन्न भएको आधुनिक बसपार्क नियमित रूपमा सञ्चालनमा आएको छ।
बसपार्क सञ्चालनमा आएपछि श्रीनगर बजारक्षेत्रमा लामो समयदेखि देखिँदै आएको यातायात अव्यवस्थापन, पार्किङ समस्या समाधान हुनुका साथै व्यापारिक गतिविधि थप व्यवस्थित हुने अपेक्षा गरिएको छ।
शारदा नगरपालिकाका अनुसार आधुनिक श्रीनगर बसपार्क नियमित सञ्चालनमा आएको हो। यसअघि बजार क्षेत्रका सडक र फुटपाथमा अव्यवस्थित रूपमा सञ्चालन हुँदै आएका पसल तथा व्यवसायलाई समेत बसपार्कभित्र व्यवस्थापन गरिएको नगर प्रवक्ता तथा वडा नं.११ का वडाध्यक्ष राजेशकुमार शर्माले जानकारी दिनुभयो।
उहाँका अनुसार बसपार्क सञ्चालनसँगै अब सबै प्रकारका सवारीसाधनहरू बसपार्कभित्रबाटै सञ्चालन हुन थालेका छन्।बसपार्क सञ्चालनको सम्पूर्ण जिम्मेवारी टेन्डर प्रक्रियामार्फत शारदा नगरपालिका–२ स्थित जय बागेश्वरी कन्स्ट्रक्सन एन्ड सप्लायर्सले पाएको छ।
सम्झौता अनुसार उक्त कम्पनीले शारदा नगरपालिकालाई वार्षिक करिब ५२ लाख रुपैयाँ राजस्व बुझाउने प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले बताउनुभयो।
उहाँका अनुसार बसपार्क सञ्चालनले नगरपालिकाको आन्तरिक आम्दानी वृद्धि हुनुका साथै सेवाग्राहीलाई समेत सहज सेवा प्राप्त हुने छ।
शारदा नगरपालिकाका नगरप्रमुख प्रकाश भण्डारीले नगरपालिकाको गौरवको आयोजना श्रीनगर बसपार्कलाई थप आधुनिक बनाउन विद्युतीय सवारीका लागि चार्जिङ स्टेसन, आवश्यक साना संरचना निर्माण तथा सौन्दर्यी करणका कार्य निरन्तर अघि बढाइने बताउनुभयो।
उहाँले श्रीनगर बजारलाई स्वच्छ, सफा र व्यवस्थित बनाउन सबैले अनिवार्य रूपमा बसपार्कको प्रयोग गर्न आग्रह गर्नुभयो।
आर्थिक वर्ष २०८०÷८१ बाट निर्माण सुरु गरिएको बसपार्क करिब सात हजार वर्गमिटर क्षेत्रफलमा सरकारी पर्ती÷ऐलानी जग्गामा फैलिएको छ।
करिब दुई वर्षमा निर्माण सम्पन्न भए पनि केही प्राविधिक तथा प्रशासनिक कारणले सञ्चालनमा आउन ढिलाइ भएको नगरपालिकाले जनाएको छ।
नेपाल सरकार, कर्णाली प्रदेश सरकार र शारदा नगरपालिकाको साझेदारीमा निर्माण गरिएको यो आयोजना नगरपालिकाको प्राथमिकतामा रहेको गौरवको आयोजना हो।यसअघि अव्यवस्थित रूपमा सेवा दिँदै आएका यातायात व्यवसायीहरू अब व्यवस्थित बसपार्कबाट सेवा दिन पाउँदा खुसी भएका छन्।
सल्यान–रुकुम यातायात व्यवसायी समिति अध्यक्ष अरविन्द राईले आधुनिक बसपार्कबाट सेवा दिन पाउँदा यात्रु र व्यवसायी दुवैलाई सहज भएको बताउनुभयो।