प्रेमराज सिम्खडा
कालीकोट,पुस २६ गते।प्रगतिशील लोकतान्त्रिक पार्टी जिल्ला समिति कालीकोटले आगामी फाल्गुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ चार जनाको नाम सिफारिस गरेको छ ।
प्रलोपाले पत्रकारका नेता जन्मदेव जैसी, कलाकार धर्मराज न्यौपाने सहित चार जनालाई उम्मेदवारका रूपमा सिफारिस गरेको हो ।
जैसीसहित धर्मराज न्यौपाने, विष्णुकुमारी शाही र प्रेम सहकारी सिफारिस हुनुभएको छ । जन्मदेव जैसी लामो समय पत्रकारिता गदै नेपाल पत्रकार महांसघको २०८१ साल कात्तिकमा सम्पन्न नेपाल पत्रकार महांसघको निर्वाचनमा महासचिव लड्नु भएको थियो ।
नेकपा माओवादी केन्द्र निकट जैसी प्रचण्डले पार्टी विगठन गरेर नेपाली कम्युनिष्ट पार्टी बनाएपछि जनार्दन शर्मा, डाक्टर बाबुराम भट्टराईले गठन गरेको प्रलोपामा सहभागी हुनु भएको हो ।
साथै पत्रकार जैसी श्रमजीवि पत्रकारको हकहितका लागि लड्दै आएका व्यक्ति पनि हुनुहुन्छ ।त्यस्तै धर्मराज न्यौपाने देउडा गायक हुनुहुन्छ, कालिकोटका कालो लगायतका धेरै देउडा गीत बजारमा छन ।
महिलाको प्रतिनिधित्व गर्ने विष्णुकुमारी शाही र प्रेम सहकारी स्थानीयस्तरदेखि सामाजिक अभियानमा सहभागी व्यक्ति हुनुहुन्छ।
जनार्दन निकटका कालीकोटमा पनि धेरै नेता तथा कार्यकर्ता रहेका छन । उम्मेदवारको अन्तिम टुंगो केन्द्रको सुझाव लिँदै जिल्ला समितिले नै लगाउने छ ।