• २७ पुस २०८२, आइतबार

हिमपात नहुँदा किसान चिन्तित

blog

फोटो क्याप्सन हिउँमा हिमपात नभएपछि छरेको जौ, गहुँँ नउम्रेको जग्गा । तस्बिर : राजन रावत

राजन रावत 

हुम्ला पुस २७ गते । पुस महिनाको तेस्रो हप्ता लाग्दासम्म हिमाली जिल्ला हुम्लामा हालसम्म हिमपात नहुँदा किसान चिन्तित भएका छन् । 

गत कात्तिक महिनामा छरेको जेठासी बाली उवा, जौ र गहुँँको बीउ नउम्रेपछि किसान चिन्तित भएका हुन।खार्पुनाथ गाउँपालिका–१ का किसान जानबहादुर शाहीले दुई महिना अगाडि जग्गामा छरेको जेठासी बाली हालसम्म उम्रन नसकेकोमा चिन्ता व्यक्त गर्नुभयो ।

 पुस महिनाको तेस्रो हप्ता लाग्दासम्म पनि हालसम्म हिमपात नहुँदा खडेरीको कारण जग्गामा छरेको बीउ नउम्रेको बताउँदै यसले जिल्लाभरका किसान समस्यामा परेको उहाँले बताउनुभयो । जौ, गहुँ र उवा छरेको जग्गा यतिबेला उम्रेर हरियो देखिनु पर्नेमा सुख्खा देखिने गरेको उहाँको भनाइ छ ।

पुसको महिना राम्रोसँग हिमपात भए जेठासी बाली राम्रो हुने किसानको आशा छ । तर यसवर्ष हालसम्म हिमपात नभएपछि बाली उम्रन नसक्दा किसानका पिरलो सुरु भएको हो ।

यता सिमकोट गाउँपालिका–२ का किसान जव्वरे भण्डारीले हालसम्म जेठासी बाली उम्रन नसक्नु चिन्ताको विषय भएको र जलवायु परिवर्तनको असर हिमालमा हिउँदमा हिउँ पर्न छोडेको कारण छरेको वाली उम्रन नसकेको बताउनुहुन्छ । 

यो समस्या सिमकोट र खार्पुनाथ गाउँपालिकाका किसानको मात्र नभएर नाम्खा, सर्केगार्ड, चङ्खेली, अदानचुली र ताँँजाकोट गाउँँपालिकामा छ । 

केही सिँचाइ सुविधा भएका जग्गामा मात्र जौ, उवा र गहुँ उम्रेको भएपनि सिँचाइ सुविधा नभएका अन्य सबै जग्गामा अवस्था भने उस्तै रहेको छ ।

 हालसम्म जिल्लाभर हिमपात हुन नसकेकोले दुई महिना अगाडि छरेको बाली उम्रन नसकेको र उम्रेको पनि खडेरीले सुकेको कृषि विकास कार्यालयका प्रमुख चुडामणी पन्तले बताउनुहुन्छ ।

हिमालमा हिमपात हुनै छोडेपछि किसान समस्यामा परेको उहाँको भनाइ छ ।यो समस्या समाधानको बिकल्प समेत नदेखिएको र किसानले कृषि बिमा समेत गर्ने अवस्था नरहेको उहाँ बताउनुहुन्छ । 

उहाँका अनुसार गत असोजको तेस्रो र कात्तिकको पहिलो हप्ता जिल्लाको उच्च क्षेत्रमा केही हिमपात भएको थिए । तर होचा स्थानमा भने हिमपात हुन सकेको थिएन ।