• २७ पुस २०८२, आइतबार

अर्थतन्त्र सुधारतर्फ

blog

देशको अर्थतन्त्रबारे अनेक समीक्षा हुने गरेका छन् । अर्थतन्त्र शिथिल भएको विमर्श यताका दिनमा अलि बढी नै पनि भएको छ । केन्द्रीय बैङ्कले जारी गरेको अर्थतन्त्रका सूचकाङ्कमा भने अर्थतन्त्र सुधारतर्फ अग्रसर भएको देखिएको छ । पर्याप्त तरलता र न्यून ब्याजदरले लगानीका स्रोतसाधनको पहुँच बढ्न सक्ने पाइएको छ । देश बाहिरबाट आउने विप्रेषणसमेत उच्च दरले बढेका कारण विदेशी विनिमय सञ्चिति सकारात्मक छ । विप्रेषण आप्रवाह त अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । यसले विदेशी मुद्रा सञ्चयलाई सहज बनाएको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामै आठ खर्ब ७० अर्ब रुपियाँ विप्रेषण भित्रिएको छ । यो पाँच महिनामा विप्रेषण आप्रवाह ३५.६ प्रतिशतले वृद्धि भएको हो । गत आवको पहिलो पाँच महिनामा विप्रषण आप्रवाह वृद्धिदर ४.७ प्रतिशत मात्र रहेको थियो । मङ्सिर महिनामा मात्रै एक खर्ब ८३ अर्ब १८ करोड रुपियाँ रेमिट्यान्स आएको छ । गत वर्षको मङ्सिर महिनामा विप्रेषण रकम एक खर्ब १८ अर्ब ७९ करोड रुपियाँ मात्र थियो । एक वर्षमै करिब ५४ अर्ब रुपियाँले मासिक विप्रेषण बढेको छ । विप्रेषणको यो तीव्र वृद्धिले विदेशी मुद्रा सञ्चिति सुदृढ भएको छ । कतिपय मुलुक विदेशी मुद्राको अभावका कारण समस्यामा जाने गरेको उदाहरण छन् । केही वर्षअघि श्रीलङ्का विदेशी मुद्रा अभावका कारण ठुलो समस्यामा परेको थियो । अर्थतन्त्र टाट पल्टेको थियो, त्यसले राजनीतिक उथलपुथलसमेत ल्याएको थियो । 

नेपालमा विदेशी मुद्रा पर्याप्त हुँदा अर्थतन्त्रको वैदेशिक व्यापारलगायत लगानीको क्षेत्र सुरक्षित देखिएको छ । बैङ्किङ प्रणालीमा तरलता सहज भएको छ । आयात भुक्तानी क्षमता बलियो भएको छ । यसले अर्थतन्त्रमा बहुआयामिक प्रभाव पार्न सक्ने देखिएको छ । केन्द्रीय बैङ्कले शुक्रबार सार्वजनिक गरेको चालु आव २०८२/८३ को पाँच महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार कुल विदेशी विनिमय सञ्चिति ३२ खर्ब एक अर्ब ४७ करोड रुपियाँ पुगेको छ । यो उच्च सञ्चिति हो । अमेरिकी डलरमा उक्त सञ्चिति २२ अर्ब १३ करोड पुगेको छ । यस्तो सञ्चिति १८.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ । सामान्यतया छ महिनाको आयात धान्न सक्ने विदेशी मुद्रा हुँदा आर्थिक अवस्था राम्रै मान्न सकिन्छ । पर्याप्त विदेशी मुद्राका कारण चालु खातामा बचत राम्रो देखिएको छ । पहिलो पाँच महिनामा चालु खाता तीन खर्ब ५८ अर्ब ८३ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता एक खर्ब ५८ अर्ब ४५ करोडले मात्र बचतमा थियो । वैदेशिक लगानीमा पनि केही सुधार देखिएको छ । पहिलो पाँच महिनामा सात अर्ब ४७ करोड प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ । यो इक्विटी मात्र आधारित लगानी हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी छ अर्ब तीन करोड मात्र रहेको थियो । 

युवापुस्ता अर्थात् जेनजी विद्रोहसमेत राजनीतिक फेरबदल र अस्थिरता हुँदा पनि बाह्य लगानी बढ्नु सकारात्मक छ । वैदेशिक लगानी आकर्षणका साथै शोधनान्तर स्थितिमा पनि राम्रो सुधार देखिएको छ । चालु आवको पहिलो पाँच महिनामा शोधनान्तर स्थिति चार खर्ब २१ अर्ब ८९ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति दुई खर्ब २५ अर्ब ३४ करोडले मात्र बचतमा रहेको थियो । त्यसै गरी यो पाँच महिनामा निर्यात उच्च प्रतिशतले बढेको छ भने आयात सामान्य गतिमा वृद्धि छ । निर्यात ५८.२ प्रतिशतले र आयात १५.८ प्रतिशतले बढेको छ । त्यसै गरी नेपाल सरकारको खर्च पाँच खर्ब ६४ अर्ब ४६ करोड छ भने राजस्व परिचालन चार खर्ब छ अर्ब ३० करोड रहेको छ । पुँजीगत खर्च न्यून हुँदा त्यसको दुष्प्रभाव भने राजस्व परिचालनलगायत आय, उत्पादन र रोजगारीमा परेको छ । मुलुक निर्वाचनको सँघारमा भएका कारण मुद्रा प्रदाय बढ्न सक्ने छ । गाउँसम्म निर्वाचनको चहलपहलले अर्थतन्त्रका ग्रामीण अवयवसम्म क्रियाशीलता आउन सक्ने छ । निर्वाचनपछि विगतमा अनि आर्थिक वृद्धि बढेको देखिएकाले यो पटक पनि नयाँ सरकार आएपछि अर्थतन्त्रले अझ बढी सुधारको गति लिन सक्ने अपेक्षा गर्न सकिन्छ ।