राजनीति राज्य सञ्चालनको सर्वोच्च तथा नियन्त्रक नीति हो । मुलुकको कुनै पनि किसिमको समृद्धि राजनीतिबिना सम्भव हुँदैन । कुनै पनि मुलुकको अग्रगमन तथा समृद्धि त्यो देशको राजनीति र नेतृत्वसँग जोडिएकै हुन्छ । देशको अभिवृद्धिमा राजनीतिक नेतृत्वको दैनिक जीवनको बोली व्यवहार, आर्थिक अनुशासन, नैतिकता, आहारविहार तथा आचरण प्रत्यक्ष रूपमा जोडिन्छ पनि । यी आदर्श मूल्यमान्यतालाई अलग राखेर नेता वा नेतृत्वले देशको विकास र समृद्धि हासिल गर्न सक्छ भन्ने कल्पना गरिनु हुँदैन ।
अरूलाई मार्गदर्शन गर्ने, अगुवाइ गर्ने वा नेतृत्व गर्ने, दिशा देखाउने, सङ्गठन वा समाजलाई प्रगतिशील दिशातर्फ उन्मुख गराउन सक्षम व्यक्तिलाई नेता भनिन्छ । जनहितको संरक्षण गर्दै समाजलाई स्थिरता, न्याय र समावेशिताको मार्गतर्फ अगाडि बढाउँदै जनताको आवाज प्रतिनिधित्व गर्नु, कानुन, संविधान र लोकतान्त्रिक मूल्यको सम्मान गर्नु, सार्वजनिक स्रोत र अधिकारको संरक्षण गर्नु, सामाजिक सद्भाव, शान्ति कायम गर्नु नेताको प्रमुख दायित्व हो ।
सत्यनिष्ठ, इमानदार र उत्तरदायी हुनु, शक्ति र पदको दुरुपयोग नगर्नु, आत्मसंयम, सरलता, विनम्रता र पारदर्शिता अपनाउनु, समय, वचन र जिम्मेवारीप्रति प्रतिबद्ध रहनु, उत्तेजक, अपमानजनक वा गैरजिम्मेवार अभिव्यक्ति नदिनु, आलोचना सहन सक्ने क्षमता हुनु आदि नेताका व्यक्तिगत जीवनको अनुशासन हो । सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु, भ्रष्टाचार, घुसखोरी र आर्थिक अनियमितताबाट टाढा रहनु, व्यक्तिगत लाभभन्दा सार्वजनिक हितलाई प्राथमिकता दिनु, आयव्ययमा पारदर्शिता कायम गर्नु नेताका आर्थिक अनुशासन हो । न्याय, सत्य र मर्यादालाई सर्वोच्च मान्नु, गलत कार्यलाई समर्थन नगर्नु, आफ्नै पक्ष भए पनि नैतिक साहसका साथ सही निर्णय लिनु, पद, पैसा वा दबाबका कारण मूल्यमान्यता नछोड्नु नैतिकता हो ।
परिवारभित्र समानता, सम्मान र जिम्मेवारीको अभ्यास गर्नु, नातावाद, कृपावाद र पक्षपातबाट टाढा रहँदै सार्वजनिक पदको दुरुपयोग गरी परिवार वा आफन्तलाई अनुचित लाभ नदिनु उसको पारिवारिक व्यवहारको आधार हो । त्यसै गरी संयमित, स्वस्थ र मर्यादित जीवनशैली अपनाई विलासी, भड्किलो वा विवादास्पद आचरणबाट जोगिनु, जनतासँग दुरी बढाउने शैली नअपनाई सरल, पारदर्शी र जनमुखी व्यवहार देखाउनु नै नेताको राम्रो आहारविहार तथा आचरणको परिचय हो ।
विशेष गरी सार्वजनिक जीवनमा रहेका नेताहरूका सामाजिक तथा व्यक्तिगत आचरण, जस्तै विवाह, व्रतबन्ध, जन्मोत्सव, वार्षिकोत्सव, चाडपर्व आदि समग्र समाजका लागि मार्गदर्शक र अनुकरणीय हुनु पर्छ । यस्ता कार्यक्रम जब अनावश्यक रूपमा भड्किला, खर्चिला र प्रदर्शनमुखी बन्छन्, तब समाज सहजै त्यसको नकारात्मक प्रभावमा पर्न बाध्य हुन्छ । यस किसिमका आचरणले तत्कालीन समकक्षी वर्गमा मात्र होइन, भावी पुस्तामा समेत गलत मूल्य र विकृत संस्कारको बीजारोपण गरिरहेको देखिन्छ, जसले अन्ततः समाजलाई क्रमशः विशृङ्खलतातिर धकेलिइरहेको हुन्छ । यसको गम्भीर परिणामस्वरूप आर्थिक रूपमा कमजोर वर्गले त्यही समाजमा अस्तित्व जोगाइराख्नुपर्ने बाध्यताका कारण भ्रष्टाचार प्रत्येक व्यक्तिको मनमस्तिकबाट आफैँ उत्पादन हुन थाल्छ र समाज नै भ्रष्टीकरणतर्फ उन्मुख भई भ्रष्ट समाजले उत्पादन गरेको नेता र नेतृत्व भ्रष्ट हुनु सामाजिक उपज हुन जान्छ । भ्रष्टाचारबाट आर्जित धनले सामाजिक नैतिकता, मूल्य र अनुशासनलाई क्षय गराउँदै समाजलाई विकृत बनाउनेबाहेक कुनै पनि दीर्घकालीन सकारात्मक परिणाम दिन सक्दैन ।
अब नेपालतर्फ फर्केर हेर्दा, नेपालका धेरै जसो स्थापित भएका र हुन खोजिएका नेताहरूको जीवनशैली, व्यवहार र प्रस्तुति हेर्दा उनीहरू आफैँ संयम, सादगी र नैतिकताको आदर्श प्रस्तुत गर्न चुकेको देखिन्छ । एकातिर आमनागरिक आर्थिक अभाव, बेरोजगारी र असमानतासँग सङ्घर्ष गरिरहेको अवस्थामा नेताहरूको भड्किलो जीवनशैली, खर्चिला समारोह, विलासी सवारीसाधन र प्रदर्शनमुखी व्यवहार सामाजिक असन्तुलनलाई अझ गहिरो बनाउने कारण बनेका छन् ।
अहिले नेपालमा राजनीतिक नेतृत्वमा स्थापित हुन अपनाइने अभ्यास विभिन्न रूपका देखिन्छन् । सभाको मञ्चबाट भिडलाई उत्तेजित गर्ने खालका भाषणहरू, निन्दात्मक तथा विभाजनकारी अभिव्यक्ति, सामाजिक सञ्जालमार्फत फैलाइने नकारात्मक टिप्पणीहरू, मिडियामा प्रस्तुत गरिने कटाक्षपूर्ण विचार, व्यक्ति विशेषलाई लक्षित गरी गरिने आलोचनात्मक अभिव्यक्ति तथा तथ्यविहीन आरोपसहितका उत्तेजक वक्तव्य आज नेपालमा नेता बन्ने सजिलो माध्यमका रूपमा विकसित हुँदै गएका छन् । यी सबैमध्ये सामाजिक सञ्जाल सबैभन्दा शक्तिशाली माध्यमको रूपमा स्थापित भएको छ ।
अहिले एआई (कृत्रिम बुद्धिमत्ता) ले सामाजिक सञ्जालमा आबद्ध मानिसलाई सम्बन्धित व्यक्तिको मनोवृत्ति र विचार पहिचान गर्न सक्ने क्षमता राख्छन् र सोही अनुसारका विषयवस्तु निरन्तर प्रवाह गर्छन् । यसरी कब्जामा पारिएको मन र विचारमा कस्तो प्रकारको विषयवस्तु प्रवाह गर्नु पर्छ भन्ने कुरा आइटी विज्ञहरूले सजिलै पहिचान गर्न सक्छन् । त्यस अनुसार योजनाबद्ध ढङ्गले सामग्री तयार गरी निरन्तर रूपमा प्रवाह गरिन्छ, जसले अन्ततः आममानिसको सोच र धारणा नियन्त्रणमा लिन सफल हुन्छ । यही प्रविधिको निरन्तर प्रयोग गर्ने आममानिस आफूलाई थाहै नपाई कुनै एक निश्चित धारणाको प्रभावमा परिसकेका हुन्छन् र सोही आधारमा आफ्ना अभिव्यक्ति तथ्य र प्रमाणद्वारा पुष्टि भएको दाबी गर्दै सार्वजनिक गर्छन् । यही प्रविधिको दुरुपयोग गर्दै केही नेता आफूलाई नेतृत्वमा स्थापित गराउने प्रयास गरिरहेका देखिन्छन् । नेपाल अहिले त्यसैको सिकार बन्न पुगेको देखिन्छ ।
नेपालको राजनीतिक नेतृत्वमा स्थापित हुनका लागि प्रयोग गरिने अर्को प्रभावकारी हतियार नकारात्मक धारणा र अभिव्यक्ति हुन् । कुनै व्यक्ति, संस्था वा पार्टीलाई आफूले प्रतिद्वन्द्वीका रूपमा पहिचान गरेपछि योजनाबद्ध ढङ्गले त्यसका विरुद्ध नकारात्मक टिप्पणी र आलोचनात्मक अभिव्यक्ति प्रवाह गरिने तथा त्यसैसँग तुलना गर्दै आफूलाई सकारात्मक र श्रेष्ठ रूपमा प्रस्तुत गर्ने प्रयास भइरहेको देखिन्छ । यस्तो अभ्यास केवल नेताहरूमा मात्र सीमित नरही सार्वजनिक क्षेत्रसम्म फैलिएको छ । सार्वजनिक वृत्त पनि यस्ता नकारात्मक धारणा र विचारबाट प्रभावित भई सोही अनुसारका बहस र विवादमा संलग्न हुँदै गएको देखिन्छ । परिणामस्वरूप, स्वस्थ र तथ्यमा आधारित राजनीतिक विमर्शभन्दा भावनात्मक, विभाजनकारी र पूर्वाग्रही बहसहरूले प्राथमिकता पाउन थालेका छन् ।
मुलुकको समृद्धिका लागि देशवासीले गम्भीर रूपमा बुझ्नुपर्ने कुरा के हो भने अर्काको आलोचनामै आफ्नो समय र ऊर्जा खर्च गर्ने कुनै पनि नेता वा राजनीतिक पार्टीले देशको दीर्घकालीन विकास र समृद्धिका विषयमा गहन चिन्तन गर्न सक्दैन । जब राजनीतिक अभ्यास विकासमुखी सोचभन्दा बदलाको राजनीतितर्फ केन्द्रित हुन्छ, तब त्यसको परिणामस्वरूप मुलुकले फेरि अर्को रूपका नकारात्मक टिप्पणी, कटाक्षपूर्ण अभिव्यक्ति र निरन्तर द्वन्द्वबाहेक केही पाउँदैन । अरूको कमजोरी औँल्याएर मात्र आफ्नो नेतृत्व निर्माण गर्ने व्यक्ति राष्ट्रका लागि उपयुक्त पात्र नहुन सक्छ । विरोध र आलोचनामै सीमित रही, अरूका कमजोरीमा समय खर्चिने तथा बदलाको राजनीतिमा संलग्न नेतृत्वले मुलुकलाई अग्रगमनतर्फ डो¥याउने निकास दिन सक्दैन । परिणामस्वरूप देश पटक–पटक उही राजनीतिक अस्थिरता, विकासको अधोगति तथा दुर्दशाको चक्रमा फसिरहन्छ । बदलाको राजनीतिले समृद्धि दिन नसक्ने यथार्थका उदाहरणका रूपमा दक्षिण एसियाली मुलुक पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का र म्यान्मारलाई हेरे पुग्छ । यी मुलुकको अनुभवले स्पष्ट देखाउँछ कि नकारात्मक राजनीति र प्रतिशोधमुखी सोचले राष्ट्रनिर्माण होइन, सङ्कट र अस्थिरता मात्र उत्पादन गर्छ ।
धेरैजसो नेपाली नेता र नेतृत्वको भाषणमा, बोलीमा, सामाजिक सञ्जालका प्रस्तुतिमा आफूलाई सर्वश्रेष्ठ देखाउन खोजेको पनि देखिन्छ । जब उसको अनुशासन, नैतिकता, आचारण, पारिवारिक व्यवहार, आहारविहार नजिकबाट नियाल्यो भने उसले प्रस्तुत गरेका भाषण, विचार, सामाजिक सञ्जालका प्रस्तुति आदि केहीमा पनि मेल खाँदैन । यी कुरामा मेल खान पुग्यो भने त्यो साँच्चिकै असल नेता हो भनेर छुट्याउन सकिन्छ । यसरी नेताका बोली र व्यवहारमा तादत्म्यता छ वा छैन भन्ने मापदण्डले मुलुकको असल नेताको पहिचान हुन सक्छ ।
अब प्रश्न उठ्छ, के केवल असल गुण भएको व्यक्ति मात्र मुलुकको समृद्धिका लागि योग्य नेतृत्व बन्न सक्छ ? यथार्थमा, असल गुण नेतृत्वका लागि अनिवार्य भए पनि ती मात्र पर्याप्त हुँदैनन् । प्रभावकारी र दूरगामी नेतृत्वका लागि बदलाको भावना नलिई, कसैका प्रति बैरभाव नराखी, दृढ इच्छाशक्ति, स्पष्ट र दीर्घकालीन दृष्टिकोण, समृद्धिका ठोस आधारहरूको गहिरो बोध, निःस्वार्थ सेवाभाव, अनुशासित कार्यशैली, मर्यादित आचरण, उच्च नैतिक मान्यता तथा राष्ट्रहितका लागि कठोर सङ्कल्पसहितको समर्पित व्यक्तित्व अपरिहार्य हुन्छ । यस्ता गुण र प्रतिबद्धता सम्पन्न नेतृत्वको विवेकपूर्ण पहिचान गर्दै, अरूको भड्काउ, उत्तेजना वा क्षणिक भावनाको प्रभावमा नपरी, देश र भविष्यका लागि योग्य नेता चयन गर्नु प्रत्येक सचेत नागरिकको गहन दायित्व हो । नागरिकको संवेदनशीलता, विवेक र जिम्मेवारीको वास्तविक परीक्षा भनेको आफ्नै हातमा निर्णय गर्ने अधिकार निहित भएको क्षणमा नै प्रकट हुन्छ ।