• १३ साउन २०८१, आइतबार

प्रदेश सरकारको खर्च

कर्णालीको ६२, लुम्बिनीको ८५ प्रतिशत खर्च

blog

काँक्रेविहार समाचारदाता 

सुर्खेत, असार २९ गते । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ मा कुल बजेटको ६२.३७ प्रतिशत खर्च गरेको छ । प्रदेश सरकारले आर्थिक वर्ष २०७८/०७९ का लागि ३८ अर्ब ४७ करोड ४२ लाख ७९ हजार बजेट विनियोजन गरेको थियो । जसमध्ये असार २५ गतेसम्ममा २३ अर्ब ९९ करोड ७० लाख ५९ हजार ७७५ रुपियाँ खर्च गरेको प्रदेश लेखा नियन्त्रक मानबहादुर बमले जानकारी दिनुभयो । 

प्रदेश सरकारले असार १५ गतेसम्म १३ अर्ब ७६ करोड २१ लाख १६ हजार रुपियाँ खर्च गरेको थियो । जसअनुसार प्रदेश सरकारले १५ दिनमा १० अर्ब खर्च भुक्तानी गरेको छ । प्रदेश सरकारले असार १५ गते यता १० अर्ब २३ करोड ४९ लाख ४३ हजार रुपियाँ भुक्तानी गरेको लेखा नियन्त्रक बमले बताउनुभयो । उहाँका अनुसार असार २५ सम्ममा सरकारले चालूतर्फ नौ अर्ब १२ करोड ८१ लाख २४ हजार रुपियाँ खर्च गरेको छ भने पुँजीगततर्फ १४ अर्ब ७५ करोड १७ लाख ८५ हजार रुपियाँ खर्च भएको छ ।

मुख्यमन्त्री कार्यालयले कुल बजेटको ६७.६८ प्रतिशत, आर्थिक मामिला तथा योजना मन्त्रालयले कुल विनियोजित बजेटको ७१.७८ प्रतिशत, उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयले कुल विनियोजित बजेटको ६५.४२ प्रतिशत, जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले कुल विनियोजित बजेटको ७२.९९ प्रतिशत, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कुल विनियोजित बजेटको ७५.२९ प्रतिशत, आन्तरिक मामिला तथा कानुन मन्त्रालयले कुल विनियोजित बजेटको ३८.१७ प्रतिशत र सामाजिक विकास मन्त्रालयले कुल विनियोजित बजेटको ७३.३२ प्रतिशत बजेट खर्च गरेका छन् । 

विकासे मन्त्रालयका रूपमा रहेको भौतिक पूर्वाधार विकास मन्त्रालयले भने ५० प्रतिशत पनि खर्च गर्न सकेको छैन । मन्त्रालयले कुल विनियोजित बजेटको ४७.७३ प्रतिशत मात्रै खर्च गरेको छ । जसमध्ये यो मन्त्रालयको पुँजीगततर्फ ६ अर्ब ९ करोड २४ लाख रुपियाँ र चालूतर्फ १९ करोड ४५ लाख ७९ हजार रुपियाँ खर्च गरेको छ ।