• २५ पुस २०८२, शुक्रबार

स्थानीय तहदेखि विकटसम्म सहज आँखा उपचार

blog

आँखाको शल्यक्रिया गरेका बिरामीहरु । तस्बिर : टोपलाल अर्याल

टोपलाल अर्याल
रेसुङ्गा, (गुल्मी), पुस २४ गते ।
पछिल्लो समय स्थानीय तहदेखि ग्रामीण क्षेत्रको विकटसम्म आँखा उपचार सहज बन्दै गएको छ । स्थानीय सरकार आएपछि सहरदेखि ग्रामीण बस्तीसम्म आँखा उपचारको पहुँच पुग्न थालेको हो ।

सत्यवति गाउँपालिका–२ की ८६ वर्षीया वृद्धा कृष्णा कुवँरको आँखा बन्द भएपछि बुढेसकालको जीवन निकै कष्टपूर्ण थियो । सहज उपचारको मेसो नमिलेका कारण लामो समय पीडा खेप्नु भएका कुवँर गाउँपालिकाले सञ्चालन गरेको निःशुल्क शिविरमा मोतियाबिन्दुको शल्यक्रिया गरेर आँखा देख्ने हुनुभयो । उहाँले भन्नुभयो, “‘मैले आँखा देखौँला भनेर कल्पना पनि गरेकी थिइन् । बाँचेपछि सबै देख्न पाइने रहेछ । भगवानसँग आँखा देख्दा–देख्दै मर्न पाइयोस् भनेर कामना गरेकी छु ।”

इस्मा गाउँपालिका–३ दर्लामचौरकी ९७ वर्षीया रत्नकला खरालले समेत शल्यक्रियापछि आँखा देख्न थाल्नुभयो । दाहिने आँखा बन्द भएको लामो समय भएका थिए । पछि विस्तारै देब्रे आँखा पनि नदेख्ने भए पनि रत्नकला हिँड्डुल गर्नै सक्नुहुन्थेन् । बुढेसकालमै भए पनि शल्यक्रिया गरेपछि दैनिकी सहज भएको छ ।

उहाँहरु प्रतिनिधि पात्र हो । गुल्मीका आठ स्थानीय तहले आफ्ना नागरिकको मोतियाबिन्दुको शल्यक्रियाको उपचार निःशुल्क गर्ने गरेका छन् । नेपाल नेत्रज्योति संघ, आँखा उपचार केन्द्रमा मासिक रुपमा नियमति ११ र १२ गते शल्यक्रिया हुँदै आएको छ । लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा अनुन्धान केन्द्रका चिकित्सकहरु मार्फत बिरामीहरुको उपचार र शल्यक्रिया हुने गरेको छ ।

अहिलेसम्म रेसुङ्गा नगरपालिका, इस्मा गाउँपालिका, गुल्मीदरवार, छत्रकोट, धुर्कोट, सत्यवति, रुरुक्षेत्र र चन्द्रकोट गाउँपालिकाले मोतियाबिन्दुको शल्यक्रिया हुँदा लाग्ने नागरिकको सात हजार रुपियाँ व्यहोर्ने गरेको नेपाल नेत्रज्योति संघ, आँखा उपचार केन्द्र गुल्मीका सूचना अधिकारी वीरबहादुर कार्कीले जानकारी दिनुभयो । कार्कीका अनुसार मुसिकोट नगरपालिकाले आँखा उपचारको बिलका आधारमा भुक्तानी गर्ने गरेको छ । त्यस्तै, मालिका, मदाने, रुरु, कालिगण्डकी र मुसिकोट नगरपालिकाले आँखा उपचार केन्द्रहरुमा जनशक्ति व्यावस्थापन र कार्यालय व्यावस्था तर्फ सहयोग गर्दै आएको कार्कीले बताउनुभयो ।

जिल्लामा स्याथी रुपमा २०४५ सालबाट आँखा उपचार सेवा र २०४९ सालबाट शाखा स्थापना भएको नेपाल नेत्रज्योति संघका अहिले सदरमुकामदेखि गाउँ–गाउँमा उपचार केन्द्रहरु रहेका छन् । नेपाल नेत्रज्योति संघ, आँखा उपचार केन्द्रले सदरमुकाममा नियमित सेवा दिएको छ । भने दुर्गम गाउँहरुमा समेत मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया शिविरहरु गर्ने तथा प्राविधिक सहयोग गर्ने गरिरहेको नेपाल नेत्र ज्योति संघ आँखा उपचार केन्द्रका प्रमुख सूर्यबहादुर बस्नेतले बताउनुभयो ।

जिल्लाका १२ वटै स्थानीय तहले आँखा उपचार केन्द्रसँग समन्वय गरेर शिविर सञ्चालन गर्दा दुर्गममा वर्षौसम्म आँखाको समस्या झेलेर बसेकाहरु पनि उपचारको पहुँचमा आउन थालेको नेपाल नेत्रज्योति संघका सचिव पदमप्रसाद पाण्डेले बताउनुभयो । उहाँका अनुसार नेपाल नेत्रज्योति संघ, आँखा उपचार केन्द्रका अनुसार वार्षिक ३३ हजारको आँखा परीक्षण तथा पाँच सयभन्दा बढी मोतियाबिन्दुको शल्यक्रिया गर्ने गरिएको छ ।

२०८१ साउन १ गतेबाट नेपाल नेत्र ज्योति संघ पनि स्वास्थ्य बिमामा आवद्ध भएको छ । धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोख्रेलले आँखा उपचारको पहुँच सहज बनाउन नेत्रज्योतिसँग सम्झौता गरेकाले अब पीडा खेपेर घरमा नवस्न नागरिकलाई आग्रह गर्नुभयो । यो वर्ष धुर्कोट, छत्रकोटसँगै चन्द्रकोट गाउँपालिकाले नेत्रज्योति संघसँग सम्झौता गरेका छन् ।

नेपाल नेत्रज्योति संघ, गुल्मीका अध्यक्ष अखिलेश्वर प्रसाद पाण्डेयले आफुहरुले स्थापनाकालदेखि आँखाको उपचार र सचेतनाको क्षेत्रमा काम गरिरहेको बताउनुभयो । उहाँले पहिले सरमुकाममा मात्रै रहेको उपचारको पहुँच अहिले स्थानीय सरकारहरुको सहकार्य र सहयोगमा विकटसम्म पुर्याउन सक्दा नागरिकलाई निकै फाइदा पुगेको बताउनुभयो ।