• २५ पुस २०८२, शुक्रबार

पन्ध्र कलाकार पुरस्कृत

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस २४ गते । नेपाल व्यावसायिक कलाकार सङ्घको ३१ औँ स्थापना दिवस र राष्ट्रिय विभूति अरनिकोको स्मृति दिवसका अवसरमा ललितकला क्षेत्रका १५ जना कलाकार सम्मानित एवं पुरस्कृत हुनुभएको छ । नेपाल व्यावसायिक कलाकार सङ्घद्वारा बुधबार राजधानीमा आयोजित कार्यक्रममा वरिष्ठ कलाकार शशिविक्रम शाह र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीलगायतले सम्मान तथा पुरस्कार प्रदान गर्नुभएको हो । 

कार्यक्रममा हेम–गङ्गा युवा कला प्रतिभा पुरस्कार सुदीप बस्याल, हेम–गङ्गा महिला कला प्रतिभा पुस्कार सम्झना राजभण्डारी र क्यान आइडियल कला पुरस्कार अजय देसारलाई प्रदान गरियो भने मुल्मी ग्राफिक डिजाइन पुरस्कार अशोकमान सिं अमात्य, कला पुरस्कार रत्नकाजी शाक्य, निर्वाणकला सम्मान मुकुन्द प्रयास, सुरेन्द्र प्रधान दीर्घकला साधक सम्मान वरिष्ठ कलाकार मदन चित्रकार, क्यान सिग्देल आर्ट मानकाजी श्रेष्ठ, क्रोधकला शिरोमणि हरिप्रसाद वैद्यलाई प्रदान गरियो  । 

त्यसै गरी कार्टुन एवार्ड पानसिङ तोमार राजेश मानन्धर, ठाकुरप्रसाद इन्दिरा मैनाली मूर्तिकला चन्द्रमणि मगर, ऋचा मैनाली रिजाल स्मृति अनमारी तामाङ, नारायणदेवी स्मृति (कला लेखन) पत्रकार श्याम स्मृत, क्यान मानबहादुर जितिमाया पुन, साइन आर्ट  (अक्षर लेखन) भुवन गुरुङ र बालकृष्ण स्मृति कला (दृश्य चित्र) बाट लीलाधर केसी पुरस्कृत हुनुभएको थियो । साथै कलाकार डी राम पाल्पालीलगायत विभिन्न सर्जकलाई सम्मान गरिएको थियो । 

कार्यक्रममा वरिष्ठ कलाकार शशिविक्रम शाहले ललितकला क्षेत्रमा स्थापना गरिएका यस्ता पुरस्कार, सम्मानले कलाकारको हौसला बढाउन, कलाकार, कला सङ्कलक र कलाका पारखी शुभचिन्तकलाई भेटघाट गराउने अवसर पनि प्रदान गर्ने विचार व्यक्त गर्नुभयो ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले नेपाली कलालाई अन्तर्राष्ट्रियकरण गराउन योगदान दिनुभएका अरनिकोको स्मृति दिवस नेपाल व्यावसायिक कलाकार सङ्घको सक्रियतामा मनाउँदै आएकोमा आगामी दिनमा नाफाले पनि सहकार्य गर्न सक्ने सम्भावनाबारे छलफल गर्दै समन्वय गरी मनाउने बताउनुभयो ।