देवराम यादव
सप्तरी पुस २४ गते । सप्तरीको बलान बिहुल गाउँपालिकामा सित लहरबाट प्रभावित विपन्न समुदायका एक सय जनालाई कम्बल वितरण गरिएको छ । बुधबार गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय राजविराजको सहयोग तथा बलान बिहुल गाउँपालिकाको सहकार्यमा कम्बल वितरण गरिएको हो ।
शीतलहरका कारण दैनिकी अत्यन्त गम्भीर बन्दै गएको अवस्थामा कम्बल वितरणले प्रभावित परिवारलाई राहत पुगेको स्थानीय बताउछन् । कम्बल वितरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले कठ्याङ्ग्रिँदो जाडोले जनजीवन प्रभावित बनाएकोे विपन्न समुदायलाई तत्काल सहारा प्रदान गर्ने बताउनुभयो ।
बलान बिहुल गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादवले मुसहर, पासवानलगायतका दलित, असहाय विपन्न परिवारहरूलाई कम्बल वितरणले राहत पुगेको बताउनुभयो । उहाँले यस समुदायहरू सित लहरको समयमा गाउँपालिकाले मानवीय दायित्वअनुसार सहयोग गरेको बताउनुभयो ।
अध्यक्ष यादवले समुदायको पीडा हाम्रो पीडा हो भन्ने सेवा भावले आगामी दिनमा पनि यस्ता मानवीय कार्यक्रमहरू निरन्तर सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कम्बल वितरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल, सशस्त्र प्रहरी उपरीक्षक रोशनकुमार बुढाथोकी, राष्ट्रिय अनुसन्धान कार्यालय राजविराजका उपनिर्देशक कुलचन्द्र न्यौपाने, बलान बिहुल गाउँपालिका वडाध्यक्ष रामकुमार यादव, पत्रकार चन्दनकुमार यादवलगायतको उपस्थिति रहेको थियो ।