• २५ पुस २०८२, शुक्रबार

चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस २४ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज कुमारसमेत चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

गाउँपालिकाले आह्वान गरेको बोलपत्र आह्वानसम्बन्धी ठेक्कामा पत्रिकामा सूचना प्रकाशन गरेको भनेर प्रकाशनै नगरी बिल मात्रै पेस गरेर भुक्तानी लिएको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ । गाउँपालिकाका कर्मचारी र निर्माण व्यवसायीको मिलेमतोमा उक्त कार्य गरिएको आयोगले दाबी गरेको छ ।  सौर्य दैनिक नामक पत्रिकामा विज्ञापनको सूचना प्रकाशन गरिएको कर्मचारी र निर्माण व्यवसायीले दाबी गरे पनि अनुसन्धान क्रममा सूचना प्रकाशन नगरेको देखिएको आयोगले जनाएको छ । 

यस कार्यमा संलग्न भएको आरोपमा आयोगले अध्यक्षसहित उक्त गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सिकिन्दप्रसाद साह, तत्कालीन लेखापाल सञ्जय पटेल, विज्ञापन एजेन्सी केएस मल्टिपर्पोज प्रालि वीरगन्ज तथा उक्त कम्पनीका सञ्चालक कमलप्रसाद उपाध्यायविरुद्ध पनि मुद्दा दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले बताउनुभयो । प्रतिवादी सबैलाई चार लाख २९ हजार चार सय रुपियाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन अनुसार कारबाही माग गरिएको न्यौपानेले बताउनुभयो ।