• १ जेठ २०८१, मङ्गलबार

क्षयरोग अन्त्यका लागि पञ्चवर्षीय राष्ट्रिय रणनीतिक योजना सार्वजनिक

blog

काठमाडौं, असार २८ गते । क्षयरोग अन्त्यका लागि पञ्चवर्षीय राष्ट्रिय रणनीतिक योजना सार्वजनिक भएको छ ।

राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले काठमाडौंमा एक कार्यक्रमका बीच क्षयरोग अन्त्य गर्ने उद्देश्यले वि.सं. २०७८/७९ देखि २०८२/८३ सम्मका लागि पञ्चवर्षीय राष्ट्रिय रणनीतिक योजना सार्वजनकि गरेको हो ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले क्षयरोगको अन्त्यका लागि विश्व समुदायसँग सहकार्य गर्दै अघि बढिरहेको जानकारी दिनुभयो ।  

राष्ट्रिय रणनीतिक योजनाले क्षयरोगको प्रकोपलाई कम गर्दै यस रोगबाट प्रभावित सबै व्यक्तिका लागि अहिलेको तुलनामा उत्तम परिणाम ल्याई भविष्यमा आइपर्ने चुनौतीको सामना गर्ने लक्ष्य रहेको मन्त्री खापुङको भनाइ छ ।

उहाँले भन्नुभयो, “विश्व स्वास्थ्य सङ्गठनले सिफारिस गरेका लक्ष्यहरु र नेपालमा पहिलो पटक सम्पन्न क्षयरोग प्रिभेलेन्स सर्वेक्षणले दिएको दिशानिर्देशनले नवीन प्रमाणमा आधारित एवम् सामाजिक दृष्टिबाट न्यायपूर्ण योजना लागू गर्नका लागि राणनीतिक दिशानिर्देश गर्ने र सन् २०३५ सम्ममा क्षयरोगको महामारीलाई अन्त्य गर्न निश्चित आधारहरु उपलब्ध हुनेछन् ।”

मन्त्रालयका सचिव डा. रोशन पोखरेलले रणनीति योजनाले विगत २५ वर्षभन्दा बढीको  क्षयरोग नियन्त्रणसम्बन्धी कामको अनुभव तथा नयाँ तथ्य विधि र प्रविधिबाट खारिएको बताउनुभयो ।

‘‘नेपालले  दिगो विकास लक्ष्य २०३० र क्षयरोग अन्त्यको लक्ष्य २०३५ ले राखेको  क्षयरोगबाट हुने मृत्युदरलाई अहिलेको अवस्थाबाट ९५ प्रतिशत नयाँ क्षयरोग हुने दरलाई ९० प्रतिशतले कमी ल्याउने र रोगका कारण हुने अधिक आर्थिक भारलाई शून्यमा झार्ने लक्ष्य छ ।,’’ उहाँले भन्नुभयो ।

केन्द्रका निर्देशक डा. सञ्जयकुमार ठाकुरले रणनीति योजनाले पाँच वर्षमा क्षयरोगबाट हुने मृत्युदर र नयाँ रोग लाग्ने दरमा उल्लेखनीय रुपमा कमी ल्याउन राष्ट्रिय क्षयरोग केन्द्र प्रतिबद्ध रहेको बताउनुभयो ।