तुलसीपुर समाचारदाता
तुलसीपुर, पुस २२ गते । दाङ जिल्लाको तुई उपत्यकामा मानव सभ्यताका पूर्वपाषाण, मध्यपाषाण र नवपाषाण गरी तीन वटै कालका महत्त्वपूर्ण प्रमाण फेला परेको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत नेपाली इतिहास तथा पुरातत्व विभागका प्राडा. डिल्लीराज शर्मा नेतृत्वको टोलीले गरेको प्रारम्भिक, सांस्कृतिक तथा पुरातात्विक सर्वेक्षणमा ती सामग्री फेला परेका हुन् ।
प्राडा. शर्माका अनुसार यस उपत्यकामा ढुङ्गाका औजार, ब्लेड, बन्चरो, साना हतियार, माटाका प्राचीन भाँडाका टुक्रा, ढुङ्गे संरचना र पानी प्रवाहसँग सम्बन्धित प्रणालीका अवशेष भेटिएका हुन् । यी प्रमाणले यहाँ जङ्गली अवस्थाबाट समुदायगत बसोवासतर्फ मानव विकासको क्रम सुरु भएको आधार मानिने शर्माले बताउनु भयो ।
सर्वेक्षणका क्रममा विदेशी अनुसन्धानकर्ताले पनि अध्ययन गरेका तथ्य समेटिएका छन् । २०३५ सालमा रेन्डी हलेन्ड र रोबर्ट एम वेस्टले यहाँका १७ स्थानमा मध्यपाषाणकालीन साना औजारबारे अध्ययन गर्नु भएको थियो भने गुड्रन कर्विनसले ४० वर्षअघि पूर्वपाषाणकालीन ढुङ्गे औजारका विषयमा अध्ययन गर्नु भएको थियो ।
टोलीले एक सातासम्म तुलसीपुर उपमहानगरपालिका–१३ मा रहेको गिढन्या, नौखाने.ताल, देवालीडाँडा, साततले ढुङ्गा, झाँक्रीढुङ्गा, खुनखुनेडाँडा, बराकुटी, राजकोट, जन्तीढुङ्गा, जुम्लीकोट, सिताडेही जस्ता स्थल प्रागऐतिहासिक दृष्टिले महत्त्वपूर्ण रहेको स्थलहरूको अध्ययन गरेको थियो ।
अध्ययन टोलीका सदस्य अशोक थारूले नवपाषाणकालमै यहाँ बस्ती रहेको, ढुङ्गाका बन्चरा र हतियार बनाउने प्रविधिको विकास भएको तथा माटो जलाएर धातु प्रयोग गरी औजार बनाइएको प्रमाण फेला परेको बताउनु भयो । तुलसीपुर उपमहानगरपालिकाका कार्यपालिका सदस्य एवं स्थानीयवासी मोहन विश्वकर्माले पुराना ढुङ्गा, तीन वटा ओखल, राजा धान कुट्ने स्थल, तिलकन्या लेकमा धाराबाट कुलो निर्माण गरिएको चिह्न तथा प्रारम्भिक प्राणी विकाससँग जोडिने सङ्केतसमेत रहेको बताउनु भयो ।
टोलीका संयोजक प्राडा. शर्माले प्रमाण फेला परेका स्थलहरू वृक्ष विस्तार, वर्षाजन्य पहिरो र मानवीय गतिविधिका कारण लोप हुने जोखिममा रहेको भन्दै तत्काल रेखाङ्कन गरी संरक्षण गर्न आग्रह गर्नु भयो । उहाँले पुरातत्व विभागमार्फत संरक्षण, स्थानीय पाठ्यक्रममा समावेश, विद्यार्थीकेन्द्रित अध्ययन, वन क्षेत्रसँग सहकार्य, साथै शैक्षिक, पर्यटकीय र ऐतिहासिक महत्त्वका आधारमा पञ्चवर्षीय योजनामा समेट्नुपर्ने सुझाव दिनु भयो । तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टीकाराम खड्काले तुई उपत्यकाका विषयमा स्थानीय पाठ्यक्रममा समावेश गरिएको र सामग्री भेटिएका स्थलहरूको संरक्षण गरिने बताउनु भयो ।