प्रदिप पन्त
बागलुङ, पुस २२ गते । बागलुङमा ८४ मेट्रिक टन धान बढी उत्पादन भएको छ । गत वर्ष २० हजार सात सय मेट्रिक टन उत्पादन भएकोमा बढेर यस वर्ष २० हजार सात सय ८४ मेट्रिक टन धान फलेको हो ।
उन्नत जातको बिउ, मौसमको अनुकूलता, सिँचाइको सुविधा र कृषकहरुले धान खेतीमा राम्रो स्याहार सुसार गरेका कारण धान उत्पादनमा वृद्धि भएको कृषि विकास कार्यालयका निमित्त प्रमुख कुमार पुन मगरले बताउनुभयो । उहाँले भन्नुभयो, “विशेषगरी उत्पादकत्वमा लगानी क्षेत्रफल एउटै छ । उत्पादकत्व गत वर्षकै भए पनि धान उत्पादनमा भने केही वृद्धि भएको हो ।”
बाली भित्र्याउने क्रममा भने वर्षाका कारण धान खेती भिजाएको भए पनि असर नगरेको मगरले बताउनुभयो । जिल्लाको कुस्मीशेरा, हटिया, मल्म, अर्जेवा, नारायस्थान तथा बानपा लगायतका क्षेत्र धान उत्पादनका लागि पकेट क्षेत्र मानिएको छ । किसानले गौरिया, गुडुरा, जोड्न, कालो नाथ्रे, सुधारिएको जेठोबुढो, राधा चार, राधा सात, खुमन चारलगायतका धान खेती गर्दै आएका छन् ।
धान रोपाइँ गर्दा खडेरी परेकोे र भित्र्याउने क्रममा वर्षाद भएकाले उत्पादनमा कमी हुन्छकी भन्ने चिन्ता भए पनि धान बालीलाई असर नगरेको किसान राजन परियारले बताउनुभयो ।
बागलुङमा दुई हजार ६३५ हेक्टर क्षेत्रफलमा उन्नत र तीन हजार ४८७ हेक्टरमा स्थानीय जातको धान खेती गरिएको छ । पाँच हजार आठ सय हेक्टर क्षेत्रफलमा वर्षायामको समयमा र ६०० हेक्टर क्षेत्रफलमा हिउँदमा पनि धान खेती गरिँदै आएको छ । ४६ हजार १४८ हेक्टर खेती योग्य जमिन रहेपनि धान खेती भने पाँच हजार सात सय १० हेक्टरमा लगाउने गरिएको कृषि विकास कार्यालयले जनाएको छ । बागलुङ पहाडी जिल्ला भएका कारण मकै, कोदो, गहुँपछि चौथो बालीको रुपमा धानलाई लिने गरिएको छ ।