• २३ पुस २०८२, बुधबार

कृषि पेसाले बदलेको जीवन

blog

स्याङ्जा समाचारदाता 

स्याङ्जा, पुस २२ गते । यहाँको अर्जुनचौपारी गाउँपालिका–१, थापाथोकका फणिनारायण अर्याल सुन्तला र कफी खेती गरेर आफ्नो जीवनलाई हराभरा बनाउनुभएको छ । 

४६ वर्षअगाडि २०३६ सालमा विद्यालयमा बागवानी पढ्दै गर्दा सुन्तलाका बिरुवाबाट आफ्नो यात्रा थाल्नुभएको थियो । कृषि विषय अध्ययन गर्दा सहपाठीले सरकारी जागिरतर्फ ध्यान दिएको तर आफू व्यावहारिक ज्ञानलाई महìव दिँदै सुन्तला खेतीमा होमिएको अर्यालले बताउनुभयो ।  

पहिलो पटक रोपेका बिरुवाले राम्रो उत्पादन दिन थालेपछि हरेक वर्ष सुन्तला रोप्न थालेको उहाँले आफ्नो अनुभव सुनाउनुभयो । पाँच वटा सुन्तालाका बिरुवाबाट थालेको व्यावसायिक सुन्तला खेती अहिले ८० रोपनी क्षेत्रफलमा फैलिएको छ भने सुन्तला बगैँचामा दुई हजार तीन सयभन्दा बढी बोट रहेका छन् । सुन्तला खेतीबाट मनग्गे आम्दानी गरेका अर्यालले २०५६ सालमा कफी खेती थालेको बताउनुभयो । सुन्तलाको बिचमा कफी लगाउन मिल्ने भएपछि मिश्रित खेती गरेको अर्यालको भनाइ थियो । 

अर्यालले सुन्तला र कफीको व्यवसायबाट प्रत्यक्ष रूपमा ५५ जनालाई रोजगारी दिएको दाबी गर्नुभयो । उहाँले गत वर्षमा ७५ मेट्रिक टन सुन्तला उत्पादन गरेर ५५ लाख रुपियाँ कमाएको बताउनुभयो । त्यसै गरी छ हजार केजी कफी उत्पादन गरेर प्रतिकिलो १०५ रुपियाँमा बेचेर छ लाखभन्दा बढी रुपियाँ आर्जन गरेको दाबी गर्नुभयो ।

 विद्यालयमा पढ्दा सिकेको सिपले मात्र नपुगेपछि अर्यालले २०४९ मा भारतको नागपुरमा १५ दिन, २०७१ सालमा अस्ट्रेलियामा तीन महिना, २०७२ सालमा १५ तिब्बतको ल्हासा र २०७४ सालमा थाइल्याडमा १५ दिन सुन्तलासम्बन्धी तालिम लिनुभएको छ । 

त्यसै गरी कफी खेतीसम्बन्धी भारतको बेङ्ग्लोरमा २०६५ र २०६६ सालमा १५/१५ दिनको तालिम दिएको अर्यालले बताउनुभयो । सरकारबाट ८५ प्रतिशतमा अनुदानमा पाएको गे्रडिङ मेसिनबाट गत आवमा चार सय मेट्रिक टन सुन्तला ग्रेडिङ गरेको बताउनुभयो । सुन्तला र कफी लगाएर राम्रो आम्दानी दिएको बताउँदै अर्यालले लामो समयदेखि गरेको मेहनत र निरन्तरताले आफूलाई पूर्ण सन्तुष्टि दिएको बताउनुभयो । कृषि पेसामा धैर्य र लगनशीलता भए सफलता सम्भव हुने उहाँको भनाइ थियो ।