जीवछ यादव
लहान, पुस २२ गते । लहान नगरपालिकाको ग्रामीण भेगका दस जना महिलामा पाठेघरको क्यान्सर देखिएको छ । लहान नगरपालिका स्वास्थ्य शाखाले आयोजना गरिएको प्रजनन् स्वास्थ्य रुगणता एकीकृत स्क्रिनिङ तथा व्यवस्थापन शिविरमा दस जना महिलामा पाठेघरको क्यान्सर पोजिटिभ देखिएको हो ।
लहानको दक्षिण ग्रामीण भेगमा पर्ने वडा नम्बर २० र २१ का १४० जना महिलाहरुमा गरिएको निःशुल्क जाँच शिविरमा दस जनामा पाठेघरको क्यान्सर पोजिटिभ देखिएको स्वास्थ्य शाखा प्रमुख बिन्देश्वर चौधरीले जानकारी दिनुभयो ।
उहाँको अनुसार तीस वर्षमाथि उमेरका महिलाहरुको भिआइए परीक्षण गर्दा आठ जनामा पहिलो चरणको र दुई जनामा तेस्रो चरणमा पुगिसकेको पोजिटिभ फेला परेको हो । तेस्रो चरणमा पुगेका दुबै जना महिलालाई भरतपुर क्यान्सर अस्पताल पठाउने र पहिलो चरणमा रहेका आठ जनाको उपचार यहि गरिने चौधरीले बताउनुभयो । तीस वर्ष मुनिको महिलाहरुलाई पाठेघरको क्यान्सर नहुने खोप नै लगाउने गरेकाले तीस वर्षभन्दा माथिका महिलाहरुको परीक्षण गरिएको छ ।
लहान नगरपालिका स्वास्थ्य शाखाले गत वर्ष लहान नगरपालिकाको उत्तरी भेगमा पर्ने तरेगना गोबिन्दपुर १७ नम्बर वडा र मलहनामा गोबिन्दपुर २४ नम्बर वडामा गरिएको शिविरमा पाँच जना पाठेघरको क्यान्सरको बिरामी फेला परेको थियो । पाठेघरको स्वाब परीक्षण गरी क्यान्सर भएको नभएको परीक्षण गर्दा चार चरणमध्ये कुन चरणमा रहेको पत्ता लाग्ने गरेको जिल्ला अस्पताल सिरहाबाट खटिएका सामुदायिक सेवा अधिकृत तेज कुमारी श्रेष्ठले बताउनुभयो ।
बेलैमा रोग पत्ता लागे ज्यान जोगाउन सकिने भएकाले पाठेघरको क्यान्सरबाट जोगाउन सकिने छ । गत वर्ष र यस वर्ष गरी लहान नगरपालिकाका चारवटा वडामा परीक्षण गर्दा १५ जना क्यान्सरका बिरामी फेला परेपछि यस शिविरलाई लहान नगरपालिकाको बाँकी २० वटा वडामा पनि सञ्चालन गर्न थप बजेट विनियोजन गर्ने स्वास्थ्य संयोजक समेत रहनुभएको लहान नगरपालिका प्रमुख महेश प्रसाद चौधरीले बताउनुभयो । एउटा वडामा यो शिविर सञ्चालन गर्न ५० हजारको दरले बजेट विनियोजन गर्न आवश्यक देखिएको छ ।