दैलेख समाचारदाता
दैलेख, पुस २२ गते । केही महिनाअघि चुत्रो फुल्दा पहेँलै देखिने दैलेखका अधिकांश गाउँ अहिले नाङ्गो पहाड जस्तै देखिन थालेका छन् । जङ्गलसँगै जीवन बिताएका स्थानीय बासिन्दा आज उजाडिएको वन देखेर चिन्तित छन् । कारण हो, चुत्रोको जरा । यसको जरा प्रतिकेजी १५ देखि २५ रुपियाँमा बिक्री हुने भएपछि पैसाको लोभमा वन उजाडिएको छ । दैलेखका विभिन्न वडामा पछिल्लो समय चुत्रोको जरा उखेल्ने क्रम बढेको छ । जङ्गलमा आफैँ उम्रने चुत्रो केही वर्षअघि कसैको चासोको विषय थिएन । अहिले प्रतिकेजी १५ देखि २५ रुपियाँसम्म पाइने भएपछि स्थानीय बासिन्दा यसमा लोभिएका छन् ।
भगवतीमाई गाउँपालिका–२ का डिलबहादुर तिरुवाले भन्नुभयो, “अहिले बिहान कसैका घरमा गइयो भने बालबालिकाबाहेक कोही हुँदैनन् । सबै जङ्गलमा चुत्रोको जरा खन्न व्यस्त छन् । घरखर्च चलाउन र दैनिकी धान्न चुत्रो नै सहारा भएपछि वन उजाडिने क्रम बढेको छ ।”
अहिले गाउँका व्यक्तिगत जग्गा र सार्वजनिक जग्गामा चुत्रोको बोट भेट्टाउन मुस्किल छ । सबै खनेर सकिन लागेको उहाँले बताउनुभयो । डिभिजन वन अधिकृत अमरप्रसाद साहले चुत्रो निकासीका लागि केही दिनअघि दिइएको अनुमति तत्कालका लागि स्थगन गर्ने तयारीमा रहेको जनाउनुभयो ।