बुलबुले समाचारदाता
सुर्खेत, पुस २२ गते । कर्णाली प्रदेश सरकारले गत वर्षबाट नयाँ निर्देशिका जारी गरेर दीर्घरोगीलाई उपचारमा सहुलियत दिने गरी ल्याएको कार्यक्रम प्रभावकारी बन्दै गइरहेको छ । सरकारले विपन्न नागरिक उपचार निर्देशिका, २०८१ जारी गरेर उपचारमा सहुलियत दिँदै आएको हो । कार्यक्रम प्रभावकारी भएको देखिए पनि बजेट न्यून हुँदा अपेक्षित रूपमा दीर्घरोगी समेटिन सकेका पाइएको छैन ।
प्रत्येक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेटिने गरेको उक्त कार्यक्रम गत वर्षदेखि थप प्रभावकारी बनेको हो । अहिले सेवा लिन आउने नागरिकको सङ्ख्या दिनप्रतिदिन बढ्दो छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा पनि बिरामीलाई उपचारमा सहुलियत योजना अघि सारिएको प्रदेश सरकारले जनाएको छ ।
दीर्घरोगीलाई उपचारमा सहुलियत दिने गरिएको सामाजिक विकास मन्त्रालयले बताएको छ । मुटुरोग, मिर्गौला प्रत्यारोपण, क्यान्सर, स्पाइनल इन्जुरी (प्यारालाइसिस) का बिरामीलाई शल्यक्रिया गर्दा मात्र उपचार सहुलियत दिने गरिएको छ । सरकारले वास्तविक बिरामी र ठुलो शल्यक्रिया गर्नुपर्ने बिरामीलाई मात्र केन्द्रित गरेर उपचारमा सहुलियत दिने गरेको मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख वृषबहादुर शाहीले बताउनुभयो । मेजर अपरेसन गर्नुपर्ने बिरामीलाई मात्र उपचार सहुलियत दिने गरिएको शाहीको भनाइ छ । उहाँका अनुसार गत वर्षसम्म जिल्लागत रूपमा उपचार सहुलियत दिने गरिएको थियो ।
जिल्ला जिल्ला अनुसार फरक फरक रकम दिइएको हो । दैलेख, सुर्खेत र सल्यानका बिरामीलाई २० हजार; जाजरकोट, कालीकोट, रुकुमपश्चिम र जुम्लाका बिरामीलाई २५ हजार तथा मुगु, डोल्पा र हुम्लाका बिरामीलाई ३० हजार रुपियाँका दरले यातायात सहुलियत दिने गरिएको उहाँले बताउनुभयो । गत वर्षबाट उपचार सहुलियत निर्देशिका जारी गरेर उपचार सहुलियत वितरण प्रणालीलाई प्रभावकारी बनाइएको हो । पछिल्लो समय क्यान्सरका बिरामी बर्सेनि थपिँदै गएका छन् । स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका अनुसार पछिल्लो समय नसर्ने रोगका बिरामी बढ्न थालेका हुन् । त्यसमध्ये पनि क्यान्सरका बिरामीको सङ्ख्या धेरै रहेको निर्देशनालयले जनाएको छ । चालु आर्थिक वर्षमा क्यान्सरका बिरामीलाई उपचारमा सहुलियतका लागि एक करोड बजेट विनियोजन गरिएको छ । उक्त बजेट निर्देशनालयले कार्यान्वयन गर्ने छ । अन्य मुटु, मिर्गौला प्रत्यारोपण, स्पाइनल इन्जुरी, (प्यारालाइसिस) का बिरामीलाई उपचारमा सहुलियतका लागि पनि एक करोड रुपियाँ बजेट विनियोजन गरिएको छ ।
कर्णालीमा पछिल्लो समय क्यान्सर बढ्दो क्रममा छ । प्रदेश अस्पताल सुर्खेतमा आएका बिरामीमध्ये दैनिक तीन/चार जनामा क्यान्सर देखा पर्ने गरेको छ । दैनिक चेकजाँचका क्रममा १०/१२ जना क्यान्सरका बिरामी फेला पर्ने गरेको प्रदेश अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा. केएन पौडेलले बताउनुभयो । सामान्य लक्षण देखिएका बिरामीलाई सम्बन्धित स्थानमा पु¥याउने काम भइरहेको उहाँको भनाइ छ । अस्वस्थ खानपानकै कारण क्यान्सर बढिरहेको उहाँले जानकारी दिनुभयो ।