• २३ पुस २०८२, बुधबार

मौसमी कारण देखाउँदै ‘ओपेक प्लस’ द्वारा उत्पादन वृद्धि रोक्ने निर्णय

blog

भियना, पुस २१ गते । तेल निर्यात गर्ने देशको सङ्गठन (ओपेक) र उसका साझेदार राष्ट्र मिलेर बनेको ओपेक प्लसले मौसमी कारण देखाउँदै फेब्रुअरी र मार्च महिनामा तेल उत्पादन वृद्धि रोकिरहने निर्णय गरेको छ । ओपेकले आइतबार जारी गरेको विज्ञप्तिमा यसबारे जानकारी दिएको हो ।

यो निर्णय साउदी अरेबिया, रूस, इराक, संयुक्त अरब इमिरेट्स, कुवेत, काजाकिस्तान, अल्जेरिया र ओमानलगायत ओपेक प्लसका सदस्य देशको भर्चुअल बैठकपछि गरिएको हो । बैठकमा विश्व तेल बजारको अवस्था र आर्थिक परिदृश्यको समीक्षा गरिएको थियो ।

ओपेक प्लसका यी आठ देशले अप्रिल सन् २०२५ देखि मासिकरूपमा तेल उत्पादन बढाउँदै आएका थिए । तर, गत वर्ष नोभेम्बरको अन्त्यतिर मौसमी अवस्थालाई ध्यानमा राख्दै जनवरी, फेब्रुअरी र मार्च सन् २०२६ मा उत्पादन वृद्धि रोक्ने निर्णय गरिएको थियो ।

विज्ञप्तिअनुसार, सदस्य देशले सतर्क नीति अपनाउने र बजारको अवस्थाअनुसार आवश्यक परेमा उत्पादन स्तर समायोजन गर्न पूर्ण लचिलोपन कायम राख्ने बताएका छन् । ओपेकले ओपेक प्लसका यी आठ देशको अर्को बैठक फेब्रुअरी १ मा हुने र त्यस बैठकमा आगामी निर्णय लिइने जनाएको छ । रासस/सिन्ह्वा