• २२ पुस २०८२, मङ्गलबार

बङ्गलादेशमा हसिना शासनकालमा २८७ जनाको मृत्यु, मानव अधिकार उल्लङ्घनको आशङ्का

blog

बङ्गलादेशमा अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिना ।

ढाका, पुस २१ गते । बङ्गलादेशमा अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनाको शासनकालमा भएका जबर्जस्ती अपहरणका घटनामा कम्तीमा २८७ जनाको मृत्यु भएको आशङ्का गरिएको छ । सरकारद्वारा गठित एक अनुसन्धान आयोगले एक हजार ५६९ अपहरण घटनाको छानबिन गर्दा तीमध्ये २८७ जना मृत मानिएको जनाएको हो ।

आयोगका अनुसार मृतकको शव ढाकाको बुरिगङ्गा नदीलगायत विभिन्न नदीमा फ्याँकिएको तथा सामूहिक चिहानमा गाडिएको हुन सक्ने अनुमान गरिएको छ । विभिन्न स्थानमा चिन्ह नलगाइएका चिहान फेला परेको आयोगले जनाएको छ । आयोगको अन्तिम प्रतिवेदनमा सुरक्षा निकायले शेख हसिना र उहाँका शीर्ष अधिकारीको निर्देशनमा काम गरेको उल्लेख छ । 

अपहरणमा परेकामध्ये धेरैजसो हसिनाविरुद्ध रहेका जमात-ए-इस्लामी र बङ्गलादेश नेशनलिस्ट पार्टी (बिएनपी)का सदस्य रहेको प्रतिवेदनले जनाएको छ । संयुक्त राष्ट्रसङ्घका अनुसार सत्ता जोगाउन गरिएको दमनका क्रममा करिब एक हजार ४०० जनाको ज्यान गएको थियो । शेख हसिनालाई मानवता विरुद्धको अपराधमा अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाइएको छ । रासस/एएफपी