• २३ पुस २०८२, बुधबार

दक्षिण अफ्रिकी सङ्गठनद्वारा भेनेजुएला विरुद्धको अमेरिकी सैन्य कारबाहीको कडा निन्दा

blog

केप टाउन, पुस २१ गते । दक्षिण अफ्रिकाका विभिन्न राजनीतिक, नागरिक समाज र श्रम सङ्घ सङ्गठनले भेनेजुएलामा अमेरिकाको सैन्य कारबाहीको कडा निन्दा गरेका छन् । उनीहरूले यसलाई अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लङ्घन भएको बताएका छन् ।

शनिबार जारी विज्ञप्तिमा दक्षिण अफ्रिकी कम्युनिस्ट पार्टीले अमेरिकी प्रशासनद्वारा भेनेजुएलामा भएको ‘सैन्य आक्रमण’लाई ‘आपराधिक’ भनेको छ । पार्टीका अनुसार यो आक्रमण अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्रसङ्घको चार्टरको स्पष्ट उल्लङ्घन हो । पार्टीले भेनेजुएलाका राष्ट्रपति निकोलस माडुरो र उहाँकी पत्नीको अपहरणलाई ‘अन्तर्राष्ट्रिय डकैती’ को रूपमा वर्णन गरेको छ । 

अमेरिका शनिबार भेनेजुएलामा सैन्य कारबाही सञ्चालन गरेको थियो, जसमा माडुरो र उहाँकी पत्नी पक्राउ परेर भेनेजुएलाबाट बाहिर लगिएका छन् । पार्टीका अनुसार अमेरिकी कारबाही लामो समयदेखि भेनेजुएला विरुद्धको धम्की र शत्रुतापूर्ण वक्तव्यको परिणति हो । यसले अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा खतरा र लाखौं नागरिकको जीवन जोखिममा पारेको छ । 

अमेरिकी प्रशासनको उद्देश्य भेनेजुएलाका रणनीतिक स्रोत नियन्त्रणमा राखेर आफ्नो इच्छा अनुसारको शासन स्थापना गर्नु रहेको पार्टीले जनाएको छ । सङ्गठनले भेनेजुएलाको जनता, क्षेत्र र स्वतन्त्रताको रक्षा गर्ने अधिकारको समर्थन गरेको छ । त्यसै गरी, नागरिक समाजको समूहले संयुक्त विज्ञप्तिमा अमेरिकी बमबारीको निन्दा गरेका छन् । 

उहाँहरूले भनेका छन्, “यस सैन्य आक्रमणले भेनेजुएलाको सार्वभौमिकता र क्षेत्रीय अखण्डतामाथि अवैध हस्तक्षेप गरेको छ र यो संयुक्त राष्ट्रसङ्घको चार्टरको स्पष्ट उल्लङ्घन हो । सबैभन्दा महतत्त्वपूर्ण कुरा, यो भेनेजुएलाका जनता विरुद्धको आक्रमण हो ।” उहाँहरूले भेनेजुएलालाई यसको तेल स्रोतको कारण लक्षित गरिएको र यसको निर्वाचित सरकारलाई आफ्नो इच्छानुसारको शासनमा बदल्न खोजिएको बताएका छन् । 

“हामी दक्षिण अफ्रिकीको हैसियतमा विश्वभरका शान्ति प्रेमीसँग मिलेर भेनेजुएलामा हस्तक्षेप रोक्न र अमेरिकी आक्रमण अन्त्य गर्न आह्वान गर्छौं ।” त्यसै गरी, दक्षिण अफ्रिका श्रम सङ्घ महासङ्घले पनि अमेरिकी अवैध सैन्य हस्तक्षेपको कडा निन्दा गरेको छ । यस सङ्घका अनुसार, “यो कूटनीति होइन, कानुन पालन होइन र लोकतन्त्र प्रवर्धन होइन । यो नग्न आक्रमण, शासन परिवर्तन युद्ध र साम्राज्यवादको आपराधिक नीति हो ।” 

दक्षिण अफ्रिकाको मजदुर सङ्घले विश्वभरका प्रगतिशील शक्तिलाई अमेरिकी आक्रमणको निन्दा गर्न आह्वान गरेको छ । यस सङ्घले संयुक्त राष्ट्रसङ्घलाई भेनेजुएलासँग उभिनु पर्नेमा जोड दिएको छ । रासस/सिन्ह्वा