साहारा लिम्बू
फुङलिङ, पुस २१ गते । ताप्लेजुङको फुङलिङ नगरपालिकामा निर्माण हुन लागेको सामुदायिक भवनको शिलान्यास गरिएको छ । करिब ४० बर्ष पुरानो सामुदायिक भवन भत्काएर निर्माण गर्न लागिएको अत्याधुनिक प्रविधिको बहुद्देश्यीय सामुदायिक भवनको शिलान्यास गरिएको हो ।
सोमबार फुङलिङ नगरपालिकाका प्रमुख अमिर मादेन, प्रमुख जिल्ला अधिकारी शिवराज सेँढाई लगायतको उपस्थितिमा शिलान्यास गरिएको छ । पुरानो संरचना सानो भएकाले ग्राउण्ड फ्लोरमा पार्किङ रहनेगरि चार तलाको अत्याधुनिक सुविधासहितको भवन निर्माण प्रक्रिया अघि बढाउन गत कात्तिक अन्तिम सातादेखि भत्काउने कार्य सुरु गरिएको थियो ।
पुराना संरचना हटाइसकिएको अब शिलान्यास गरी औपचारिक रुपमा नयाँ संरचना निर्माण कार्य सुरु गरिएको जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख विष्णु तिवारीले जानकारी दिनुभयो। क्रमागत योजनाअन्तर्गत चालु आर्थिक वर्षभित्र ग्राउण्ड फ्लोरमा पार्किङ तथा पहिलो तलाको कार्य सम्पन्न गर्नेगरि ठेक्का सम्झौताअनुसारको काम सुरु भएको छ।
जिल्लामा सार्वजनिक कार्यक्रम सञ्चालन गर्न सार्वजनिक खुल्ला मैदानको समेत अभाव भएको र सामुदायिक भवन कम क्षमताको भएकाले आधुनिक शैलीको भवन निर्माणमा जोड दिइएको जिल्ला समन्वय समिति ताप्लेजुङले जनाएको छ।
नवनिर्मित बहुद्देश्यीय भवन पार्किङ, सामुदायिक, प्रशासनिक र आवासीयसहितको चार तलाको हुने जनाएको छ । नेपाल सरकारको सघन शहरी तथा भवन निर्माण आयोजनाले बहुवर्षे योजना अन्तर्गत चालु आर्थिक वर्षमा कुल ५ करोडको ठेक्का आह्वान भएकोमा ३ करोड २५ लाख १८ हजार ४५७ रुपियाँ ९० पैसामा ठेक्का सम्झौता गरी निर्माण कार्य सुरु गरेको हो।