यज्ञप्रसाद सापकोटा
गुलरिया (बर्दिया), पुस २१ गते । बर्दियामा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड राजापुरले ३० हजार दुई क्विन्टल धान खरिद गरेको छ । खाद्यले किसानबाट सरकारले तोकेको समर्थन मूल्यमा २८ हजार ८२ क्विन्टल मोटा र एक हजार ९ सय २० क्विन्टल मध्यम धान खरिद गरेको हो ।
खाद्यले १० करोड ४२ लाख ४० हजार छसय २१ रुपियाँ बराबरको धान खरिद गरेको छ । मोटा धान ९ करोड ७२ लाख ७२ हजार तीन सय ५ रुपियाँ र मध्यम धान ६९ लाख ६८ हजार तीनसय १६ रुपियाँ बराबरको खरिद गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड राजापुरका कार्यालय प्रमुख कमल पाण्डेले बताउनुभयो ।
खाद्यले राजापुर खरिद केन्द्रबाट १९ हजार ६४ क्विन्टल, शान्तिबजार खरिद केन्द्रबाट चार हजार ८२ क्विन्टल, जयनगर केन्द्र खरिद केन्द्रबाट दुई हजार ६ सय ५७ क्विन्टल गुलरिया खरिद केन्द्रबाट दुई हजार चारसय ४४ क्विन्टल, बाँसगढी केन्द्रबाट नौ सय ५७ क्विन्टल र बढैयाताल केन्द्रबाट सातसय ९८ क्विन्टल धान खरिद गरेको छ ।
जिल्ला खरिद समिति बर्दियाले आठवटै स्थानीय तहमा तीन–तीन हजार क्विन्टल धान खरिद गर्ने कोटा छुट्याएको थियो । धान खरिदका लागि गोदामको व्यवस्था गरेका बारबर्दिया, गुलरिया, बाँसगढी नगरपालिका र गेरुवा र बढैयाताल गाउँपालिकामा धान खरिद गरिएको थियो । अरु पालिकामा धान खरिद गरेर बचेको कोटा राजापुर खाद्यको हाताभित्र खरिद गरेको प्रमुख पाण्डेले बताउनुभयो ।
खाद्यमा धान राख्ने गोदाम खाली नभएको हुनाले पाँचवटा खरिद केन्द्रमा खरिद गरिएको धान सोही स्थानमा राखिएको छ । नगरपालिकाका गोदामहरू सुरक्षित नभएको हुनाले पनि धान राख्न जोखिम भएको बताइएको छ । गोदाममा रहेको धान प्रशोधन गरेपछि खाद्यकै गोदाममा ल्याइने उहाँले बताउनुभयो । गोदाममा राखिएको चामल नबिकेको हुनाले गोदाम खाली नहुँदा धान राख्न समस्या भएको छ ।
सरकारले यस वर्ष मोटा धानको समर्थन मूल्य ३४ सय ६३ रुपियाँ प्रतिक्विन्टल तोकेको थियो । मध्यम धान प्रतिक्विन्टल तीन हजार छसय २८ रुपियाँ तोकेको थियो । खाद्यले गत बर्ष एक लाख क्विन्टल धान खरिद गर्ने लक्ष्य राखे पनि ३७ हजार क्विन्टल मात्र धान खरिद गरेको थियो । यस बर्ष ३० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य राखेकोमा लक्ष्यअनुसार धान खरिद भएको छ ।