• २२ पुस २०८२, मङ्गलबार

मह काढ्दै मौरीपालक किसान

blog

हेटौँडा उपमहानगरपालिका–१८, खड्कुलेमा मह काढ्दै किसान । तस्बिरः अनिल पराजुली

अनिल पराजुली

हेटौँडा, पुस २१ गते । पूर्वी मकवानपुरको बकैया गाउँपालिका–४, जुरेली तुलसीपुरका मौरी पालक किसान नारायण घिमिरेलाई यतिबेला मह बिक्री गर्न भ्याइ नभ्याई छ । 

हेटौँडाको आल्दमार, हटिया चिसापानी, हर्नामाडी, खड्कुले, मकवानपुरगढीको डुम्रेकुना, मक्रान्चुली लगायतका क्षेत्रमा मौरी चरनका लागि लैजाँदै आएका घिमिरेले चरन क्षेत्रमै मह निकालेर बिक्री गरिरहनु भएको छ । 

सिजन अनुसार व्यावसायिक तरकारी तथा फूल खेतीसँगै मौरीपालन गर्दै आएका घिमिरे बजार राम्रो पाएकोमा उत्साहित हुनु हुन्छ । विगत तीन वर्षदेखि व्यावसायिक मौरीपालन सुरु गरेका घिमिरे दम्पति मिलेर जिल्लाको विभिन्न स्थानमा तोरी फुलेका बेला मौरी चरनका लागि लैजाने गर्नु भएको छ । 


मौरी चरन गरिएकै स्थानमा मह काढ्ने मेसिन लगेर मह निकाल्ने गरिएको छ । जाडो याममा मौसम परिवर्तन हुँदा मह काढ्न कठिन हुनेगरेको किसानको भनाइ छ । सफा र घाम लागेको मौसममा मात्र मह काढ्न उपयुक्त हुने र चिसो मौसममा मह काढ्दा मौरी रिसाउने तथा काम गर्न समस्या हुने घिमिरेले बताउनु भयो  ।

मौरी चरन स्थानान्तरण गर्नुअघि मह काढ्न लागेको उहाँको भनाइ छ । हाल १६ वटा गोला मौरी पाल्दै आउनु भएका घिमिरेले मौरीका गोला तयार पारेर बिक्री गर्दै आम्दानी गर्नु भएको छ । “पहिला ३१ वटा गोला थियो, १० गोला बिक्री गरियो, अहिले २१ वटा बाँकी छ । बर्खामा किरा, कमिला र चराका कारण मौरी घटेको हो” उहाँले भन्नु भयो । फागुनपछि भएका गोलालाई दोब्बर बनाउने लक्ष्यसहित काम गरिरहेको उहाँको भनाइ छ ।


माहुरीको घार र महको माग बढ्दै गएपछि व्यवसाय विस्तार गर्दै लगिएको घिमिरेले बताउनु भयो । ‘एपिस मेलिफेरा’ जातको मौरी पालन गर्दै आउनुभएका उहाँका अनुसार यस व्यवसायबाट मनग्य आम्दानी हुने गरेको छ । आर्फैले रानो उत्पादन गरी गोला वृद्धि गर्न सकिने उहाँले जानकारी दिनु भयो ।

मह बिक्रीका लागि बजारको समस्या नरहेको बताउँदै घिमिरेले गत वर्ष २६० केजी मह उत्पादन गरी बिक्री गर्नु भएको थियो । यस वर्ष चार क्विन्टल मह उत्पादन गर्ने लक्ष्य रहेको उहाँले बताउनु भयो । खर्च कटाएर वार्षिक करिब तीन लाख रुपियाँसम्म आम्दानी हुने उहाँको भनाइ छ ।