प्रवीणकुमार शर्मा
रौतहट, पुस २१ गते । रौतहटमा इभी गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
बौधिमाई नगरपालिका–१, भुवाली चौकमा पिपरीयाबाट अजगैबि जाने भित्री सडक खण्डमा बागमती प्रदेश ०३–००१ ज. ७६६ नं. को इभी गाडीले अनटेस्ट प्लेटिना मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको उपचारको क्रममा मृत्यु भएको छ ।
मोटरसाइकल चालक बौधीमाई नगरपालिका–२, ईनर्वाका २३ वर्षीय दिपेन्द्र बैठाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक रुद्रराज कंडेलले जानकारी दिनु भयो । सोमबार बिहान ०८ः४५ बजेको समयमा इभीको ठक्करले गम्भिर घाइते भई उपचारका लागि प्रादेशिक अस्पताल गौरमा भर्ना भएका बैठालाई डाक्टरले १० बजेर १५ मिनेटमा मृत घोषणा गरेको उहाँले बताउनु भयो ।
ठक्कर दिने इभी गाडी र इभी गाडीका चालक रौतहटको राजपुर नगरपालिका–५ का २५ वर्षीय उपेन्द्र साहलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक कंडेलले बताउनु भयो । शव प्रादेशिक अस्पताल गौरमै रहेको र घटनाको अनुसन्धान भई रहेको उहाँले जानकारी दिनु भयो ।