गार्डेन राई
सोलुखुम्बु, पुस २१ गते । सोलुखुम्बु जिल्लामा दलित तथा पिछडिएका समुदायलाई लक्षित गर्दै धार्मिक कर्मकाण्डसम्बन्धी तालिम सुरु भएको छ। हिन्दु धर्ममा गरिने विभिन्न धार्मिक विधि, पूजापाठ तथा संस्कारबारे व्यावहारिक सीप प्रदान गर्ने उद्देश्यले एक साताको तालिम आयोजना गरिएको हो।
माप्यदुधकोशी गाउँपालिकाको आयोजनामा सुरु भएको तालिममा गाउँपालिकाका सातवटै वडाबाट प्रतिनिधित्व हुनेगरी ११ जना दलित समुदायका व्यक्तिहरूको तालिममा सहभागिता छ। तालिममा जन्म, विवाह, मृत्यु संस्कार, चाडपर्वलगायत धार्मिक कार्यमा गरिने विभिन्न कर्मकाण्डबारे जानकारी दिइँदै सहभागीलाई आधारभूत रूपमा धार्मिक कार्य सम्पन्न गर्न सक्षम बनाउने लक्ष्य लिइएको छ।
गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राईले गाउँघरमा अझै पनि छुवाछूतको प्रचलन पूर्णरूपमा अन्त्य हुन नसकेको अवस्थामा दलित समुदायका अगुवालाई धार्मिक कर्मकाण्डसम्बन्धी सीप प्रदान गर्नु आवश्यक रहेको बताउनुभयो । संविधानले छुवाछूतविरुद्ध स्पष्ट कानुनी व्यवस्था गरे पनि व्यवहारमा समस्या कायमै रहेको उल्लेख गर्दै उहाँले समुदायभित्रै दक्ष जनशक्ति तयार पारेर समाधान खोज्न पालिका अघि बढेको बताउनुभयो।
गाउँघरमा दलित समुदायको घरमा धार्मिक कार्य वा मृत्यु संस्कार गर्नुपर्दा ब्राह्मण समुदायका पुरोहितहरू उपस्थित नहुने समस्या रहेको सहभागीहरूको भनाइ छ। उता, दलित समुदायको घरमा कर्मकाण्ड गरेमा सामाजिक बहिष्कार र जातीय दण्डको डर हुनेगरेको गुनासो ब्राह्मण समुदायका पुरोहितहरूले बताएका छन् ।
उद्घाटन सत्रलाई सम्बोधन गर्दै गाउँपालिकाका उपाध्यक्ष गौरव राईले दलित तथा पिछडिएका समुदाय समाजको अभिन्न अङ्ग भएकाले समानताको अभ्यास भाषणमा मात्र नभई व्यवहारमा उतार्न आवश्यक रहेको उल्लेख गर्नुभयो । छुवाछूत कागजमा अन्त्य भए पनि व्यवहारमा कायम रहेकोप्रति दुःख व्यक्त गर्दै उहाँले त्यसको समाधानका लागि पालिकाले विभिन्न कार्यक्रममार्फत पहल गरिरहेको बताउनुभयो ।
स्थानीय दलित अगुवा विकुमार विश्वकर्माले सोलुखुम्बुमा दलित समुदायका लागि यस्तो तालिम आयोजना हुनु स्वागतयोग्य भएको बताउनुभयो । उहाँले यस्ता कार्यक्रमले समुदायको मनोबल उच्च हुनुका साथै समाजमा व्याप्त नकारात्मक सोच परिवर्तन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
जनप्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक जगबहादुर विश्वकर्माले तालिमपछि दलित समुदायका व्यक्तिहरूको क्षमता अभिवृद्धि हुनुका साथै भविष्यमा आर्थिक आम्दानीको अवसरसमेत खुल्ने बताउनुभयो ।
धार्मिक कर्मकाण्डले धार्मिक जीवनलाई व्यवस्थित, सुसंस्कृत र आध्यात्मिक बनाउने भएकाले सबै समुदायमा यससम्बन्धी दक्ष जनशक्ति आवश्यक रहेको सहभागीहरूको भनाइ छ। तालिममा स्थानीय पुरोहित कृष्णप्रसाद घिमिरेले सहजीकरण गर्नुभएको छ ।