गुणबहादुर रोका
सुलीकोट, पुस २१ गते । सन् २०२५ को एक वर्षको अवधिमा १४ हजार नौ सय ८० जना पर्यटकले उत्तरी गोरखाको मनास्लु क्षेत्र भ्रमण गरेका छन् । उत्तरी गोरखामा बेमौसमी बाढी, पहिरो, हिमपात, भौगोलिक विकटता र जेनजी आन्दोलनको बाबजुद पनि मनास्लु क्षेत्र भ्रमण गर्ने पर्यटकको सङ्ख्या वृद्धि भएको मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) गोरखाले जनाएको छ ।
मनास्लु संरक्षण क्षेत्र आयोजना कार्यालय गोरखाले तयार पारेको तथ्याङ्क अनुसार एक वर्षको अवधिमा १४ हजार ९८० जना पर्यटक मनासलु क्षेत्र भ्रमण गर्न आएका हुन् । जसमध्ये नेपाली पर्यटक २४० जना, सार्क राष्ट्रका पर्यटक ३४४ जना र विदेशी पर्यटक १४७३८ पर्यटक मनास्लु संरक्षण क्षेत्र भ्रमण गरेका मनास्लु संरक्षण क्षेत्र एमक्याप गोरखाका प्रमुख सन्तोष सेरचनले बताउनुभयो ।
मनासलु संरक्षण क्षेत्र प्रबेश गर्ने विदेशी पर्यटकलाई प्रतिव्यक्ति ३ हजार, सार्क राष्ट्रका पर्यटकलाई १ हजार र नेपाली पर्यटकलाई रु. दुई सय रुपियाँ प्रवेश शुल्क तिर्नुपर्ने एमक्याप कार्यालय गोरखाले जनाएको छ ।
गत वर्षको सन् २०२४ मा १० हजार ६०२ जना पर्यटक मनास्लु क्षेत्र भ्रमणमा आएका थिए, कार्यालय प्रमुख सन्तोष सेरचनले भन्नुभयो, ‘यो एक वर्षको अवधिमा झण्डै ४० प्रतिशत पर्यटक वृद्धि भई बढेर एक वर्षमा १४ हजार ९८० जना पर्यटक मनास्लु क्षेत्र भ्रमण गरेका छन् ।’
पर्यटकले काठमाडौंको भृकुटीमण्डप र पोखराको ड्यामसाइडस्थित काउन्टरमा प्रबेश शुल्क बापत दस्तुर बुझाउनुपर्नेछ, मनासलु संरक्षण क्षेत्र एमक्यापका सूचना अधिकारी भुवन ओझाले भन्नुभयो, पर्यटकले दुबै ठाउँमा प्रवेश दस्तुर नबुझाएमा एमक्यापको जगत र सामागाउँमा दोब्बर दस्तुर तिरी मनासलु संरक्षण क्षेत्र प्रवेश गर्न पाइनेछ।’
आन्तरिक तथा बाह्य पर्यटकहरुले साम्दो, सामागाउँ, ल्हो, गाउँजस्ता उचाइमा बसेका बस्तीहरुमा हिमाली जीवन, संस्कृति र प्रकृतिको अनौठो सङ्गम अनुभव गर्दै उत्तरी गोरखा भ्रमण लम्ब्याउने गरेका छन् ।
मनास्लु पदमार्गमा बढ्दो आकर्षणको प्रमुख कारण यहाँको मौलिक संस्कृति, अविकृत हिमाली सौन्दर्य र अन्य लोकप्रिय पदमार्गको तुलनमा कम भिडभाड तथा विदेशी पर्यटकको लागि तिब्बती बस्तीसँगको सांस्कृतिक सामीप्यमा पनि मुख्य आकर्षण बनेको छ ।
पर्यटकको सङ्ख्यामा भएको वृद्धिले उत्तरी गोरखाबासीमा ऊर्जा थपिएको छ, होटेल व्यवसायी निमा दोर्जेले भन्नुभयो, ‘विश्वको आठौँ अग्लो हिमाल मनास्लुको छायाँमा उभिँदा पर्यटकले आनन्द मान्दै स्वर्गको एक अंश हो भन्ने गरेको ।’
एक वर्षमा झण्डै १५ हजार पर्यटकको आवागमनले मनास्लु क्षेत्रलाई यो वर्ष पर्यटनको उज्यालो पहाड बनाइदिएको छ, जहाँ हिमाल मात्र होइन, संस्कृतिको धड्कन पनि उत्तिकै चम्किएको छ।
मनास्लुमा हरेक वर्ष उल्लेखनीय रुपमा पर्यटकको सङ्ख्या बढ्दै गएकाले मनास्लु संरक्षण क्षेत्रमा स्रोत साधनको प्रयोग गरेर पर्यटकको राम्रो व्यवस्थापन गर्ने हो भने केही वर्षमा मनास्लु क्षेत्र नेपालकै चर्चित पर्यटकीय गन्त्वय बन्न सक्ने सूचना अधिकारी ओझाको भनाइ छ ।