• १५ चैत २०८०, बिहिबार

डेरी सञ्चालनपछि किसानलाई राहत

blog

जीवछ यादव

लाहान, असार २८ गते  । सिराहाको दक्षिण–पूर्वी भेग भारतीय सीमासँग जोडिएको भगवानपुर गाउँपालिका–१ मा बालासुन्दरी कृषि सहकारी साना किसान दूध डेरी स्थापना भएपछि किसानले राम्रो आम्दानी गर्न थालेका छन् । उत्तरतर्फ १२ किलोमिटरमा लहान र दक्षिणमा पाँच किलोमिटरमा भारतीय बजार लौकाहामा गएर दूध बिक्री गर्दै आएका यहाँका किसानलाई यो डेरीले सहज बनाएको छ । गाउँकै बजारमा डेरी सञ्चालनमा आएपछि भैँसीपालनतर्फ किसान आकर्षित भएको स्थानीय हरिहरनाथ यादवले बताउनुभयो । 

उहाँले भन्नुभयो, “यति टाढा भैँसीको दूध कसरी बिक्री गर्न जानु ? खान सक्नेजति खान्थ्याैं, बाँकी रहेको दूध गाउँघरमा बिक्री भए भयो, नभए खेर जान्थ्यो तर अहिले १० लिटर दूध बिहानै डेरीमा बेचेर दिनको छ सय रुपियाँको दरले आम्दानी हुन थालेको छ ।”हरिहरनाथजस्तै भगवानपुर गाउँपालिकाका अरू किसान पनि भैँसी पालेर प्रतिमहिना एक हजार पाँच सयदेखि तीन हजार रुपियाँसम्म आम्दानी गर्न थालेको डेरीका अध्यक्ष चन्देश्वर यादवले जानकारी दिनुभयो । 

“यस सहकारीले किसानलाई ऋण र प्राविधिक सहयोग गर्न थालेपछि यस भेगका किसान अहिले तरकारी, माछापालन र भैँसीपालनमा निकै हौसिएका छन्,” उहाँले भन्नुभयो । तरकारी खेती, माछापालन, कुखुरापालन र धान खेतीका लागि यो सहकारी संस्थाले ऋण दिन थालेपछि सहज भएको जग्गा भाडामा लिएर तरकारी खेती र भैँसीपालन गर्दै आउनुभएकी भगवानपुर–१ की गीता सदायले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिले त खानका लागि मात्रै खेती हुन्थ्यो । अब आम्दानीमुखी भएको छ । यसले दलित समुदायको पनि आर्थिक अवस्थामा सुधार ल्याएको छ ।”

यो सहकारी संस्थामा सात सय किसानको सेयर लगानी छ । डेरीबाट उत्पादित दूध, पनिर, खुवा र घिउ बाहिरको बजारमा बिक्री गर्ने उद्देश्यका साथ यस डेरीको विकास भइरहेकाले गाउँपालिकाबाट समेत आवश्यक सहयोग गर्ने भगवानपुर गाउँपालिका अध्यक्ष उग्रनारायण यादवले विश्वास व्यक्त गर्नुभयो ।