• १९ असार २०८१, बुधबार

कृषिमा बागमतीको योगदान सत्र प्रतिशत

blog

हेटौँडा, असार २८ गते । मुलुकभरको कृषि उत्पादनमा बागमती प्रदेशको योगदान १७ प्रतिशतभन्दा बढी छ । राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनमा ३६.९ प्रतिशत योगदान रहेको बागमती प्रदेशको कृषि क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा भने १७.१२ प्रतिशत योगदान रहेको बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको हो । 

बागमतीमा खेतीयोग्य जमिनको क्षेत्रफल तीन लाख २८ हजार २९७ हेक्टर रहेकामा दुई लाख ८९ हजार ६६२ हेक्टरमा खेती हुन्छ । एक लाख ५९ हजार ७८२ हेक्टरमा सिँचाइ सुविधा पुगेको मन्त्रालयले जनाएको छ ।मन्त्रालयका प्रवक्ता वरिष्ठ कृषि प्रसार अधिकृत झलकनाथ कँडेलले प्रदेशमा कृषि उत्पादनको आधारमा खाद्यान्न अपुगको अवस्था रहेको जानकारी दिनुभयो । उहाँले आव २०७६/७७ को तथ्याङ्कअनुसार प्रदेशमा १३ लाख ४८ हजार २८२ हजार मेट्रिक टन उत्पादन भएकामा ५१ हजार ९५७ मेट्रिक टन खाद्यान्न अपुग रहेको बताउनुभयो ।

यसैगरी पशुपन्छीजन्य उपजको उपलब्धता अण्डाबाहेक प्रदेशमा भएको उत्पादन पर्याप्त नरहेको प्रवक्ता कँडेलले जानकारी दिनुभयो । दूध तीन लाख ९७ हजार ३७४ मेट्रिक टन, मासु ७८ हजार ७९२ मेट्रिक टन, अण्डा ८० करोड, ४५ लाख ४३ हजार गोटा र माछा तीन हजार २२४.४३ मेट्रिक टन अघिल्लो आवमा उत्पादन भएको बताउँदै उहाँले दूध २८.१२ प्रतिशत, मासु ७.४९ प्रतिशत र माछा ८९.४० प्रतिशत अपुग रहेको बताउनुभयो ।यस्तै तरकारी सात लाख ३५ हजार ५४१ मेट्रिक टन, दलहन बाली २६ हजार ४०४ मेट्रिक टन, तेलहन ४१ हजार ३४२ मेट्रिक टन र ८५ हजार ५१२ मेट्रिक टन उत्पादन भएको थियो ।