• १९ पुस २०८२, शनिबार

तराईमा घाम चम्किने आशा

blog

केही दिनदेखि अँध्यारोमा सिमसिम पानी परे जस्तो शीत परिरहँदा मानिस घरबाट बाहिर निस्कन सकेनन् । शक्रबार अचानक केहीबेर घाम लाग्दा गाउँघरमा रौनक छायो अनि खानेकुराको जोहो गर्न सबै बजार निस्के तर केहीबेरमै उही अँध्यारो फर्केपछि मलिन बनेका स्थानीय भोलि घाम लाग्ने आशामा फेरि घरभित्र छिरे ।

काठमाडौँ, पुस १९ गते । शीतलहर चल्दा विगत एक सातादेखि तराईवासीले राम्ररी घाम देख्न पाएनन् । धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले भन्नुभयो, “बल्ल शुक्रबार दिउँसो अलिक चहकिलो घाम देखियो तर अपराह्नबाट फेरि हरायो र उही शीतलहरको हुस्सुकुहिरो सुरु भयो । दुई दिन त हवाई उडान पनि बन्द भयो ।”

मधेश प्रदेशको सबैभन्दा बढी जनसङ्ख्या भएको अनुमान गरिएको धनुषाका धेरै जसो नगरपालिकासमेत गरिब तथा पिछडिएको समुदायले भरिएका छन् । जाडोमा थर्थर काम्दै झुप्राभित्र बसिरहेका नागरिकको आशा भनेकै जिल्ला प्रशासन र स्थानीय पालिका हुन् । लुइँटेलका अनुसार लक्षित वर्ग केलाएरै हरेक घरलाई न्यानो बनाउने कोसिस गरेका छौँ, दाउरा र न्यानो कम्बल घर घरमै पुर्‍याएका छौँ । 

उहाँका अनुसार धनुषाका नगरपालिका सहिदनगर, सबैला नगर, नगराइन नगर, मिथिला नगर, गणेशमान–चारनाथ नगर नगरपालिका र जनक नन्दिनी गाउँपालिकाका अधिकांश समुदाय गरिब तथा विपन्न छन् । 

उहाँले थप्नुभयो, “एक परिवार एक कम्बल नाराका साथ अहिलेसम्म एक हजार वितरण गरिसक्यौँ, अझै गर्दै छौँ ।” ती स्थानका सामुदायिक विद्यालयमा पढ्ने बालबालिका जाडोमा पनि

नाङ्गैभुतुङ्गै जस्तै विद्यालय पुग्छन् । उनीहरूका लागि न्यानो कपडाको जोहो विभिन्न सङ्घ संस्थामार्फत गरिएको छ । त्यसै गरी पिछडिएका, अपाङ्गता भएका, वृद्धवृद्धा तथा अति विपन्न र विभिन्न आश्रमका आश्रितलाई पनि न्यानो कपडा एकसरो पु¥याउने क्रम जारी रहेको छ । त्यति मात्र होइन, घर, टोल र चोकहरूमा स्थानीय पालिकाको समन्वयमा दाउरा वितरण गर्दै नागरिकलाई न्यानो राख्ने प्रयत्न गरिएको छ । 

धनुषाको जस्तै केही दिनयता लगातार नेपालको तापक्रम घट्दै जाँदा तराईमा जनजीवन ठप्प जस्तै बनेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पुस १५ गते काठमाडौँमा ४.८ डिग्री सेन्टिग्रेड तापक्रम पुग्यो । जुम्लामा माइनस ४.५ डिग्री सेन्टिग्रेड पुगेको थियो । भोलिपल्ट पुस १६ गते बादल लागेका बेलामा काठमाडौँमा ५.१ डिग्री र पुस १७ गते बिहीबार ५ डिग्री सेन्टिग्रेडमा फेरि झर्‍यो । शुक्रबार जुम्लामा माइनस ३ डिग्री पुगेको छ । यसरी अन्यत्र तापक्रम घटबढ हुँदा तराईको शीतलहरमा भने निरन्तर रहेको छ । शीत र चिसोमा त्यहाँका बासिन्दा कठाङ्ग्रिरहेका छन् । 

मध्यतराईको बारा जिल्लामा पनि हुस्सु, कुहिरो र शीतलहरले जनजीवन कष्टकर बनेको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले बताउनुभएको छ । उहाँका अनुसार केही दिनदेखि अँध्यारोमा सिमसिम पानी परे जस्तो शीत परिरहँदा मानिस घरबाट बाहिर निस्कन सकेनन् । शुक्रबार दिउँसोको घाममा खानेकुराको जोहो गर्न बजारमा भिड नै लाग्यो । घाम लागेपछिको घरगाउँमा केहीबेर रौनक छायो । दिउँसोबाट फेरि उही अँध्यारो फर्केपछि जनजीवन मलिन भइहाल्यो, भोलि फेरि घाम लाग्ने आशामा सबै घरभित्रै पसे । 

उहाँका अनुसार जिल्ला विपत् व्यवस्थापन समितिको निर्णय अनुसार स्थानीय पालिकाले जिल्ला वन कार्यालयको समन्वयमा नागरिकलाई न्यानो बनाउन दाउरा उपलब्ध गराएको छ । केही दिनभित्र ३० चट्टा दाउरा बाँडिएको छ । एक चट्टामा करिब ६५ किलो दाउरा हुन्छ । अहिलेसम्म जाडोकै कारण कसैको ज्यान नगए पनि चिसो रुघाखोकी लागेर केही बिरामी भएको भेटिएका छन् । 

नागरिक सङ्घ संस्थालाई न्यानो कपडाको जोहो गर्ने जिम्मा दिए अनुसार बाँड्ने तयारी भइरहेको उहाँले बताउनुभयो । नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई गाउँटोलको निगरानीको जिम्मा दिइएको छ । जस अनुसार कहाँ र कसरी मानिस बसिरहेका छन् अनि कसलाई कस्तो समस्या परेको छ भन्ने कुराको जानकारी हरेक दिन जिल्ला विपत् व्यवस्थापन समितिमा उनीहरूले दिने गरेका छन् । उता सर्लाहीका गरिब बस्ती केन्द्रित गर्दै दाउरा, कम्बल तथा न्यानो कपडा वितरण आवश्यकता अनुसार गरिएको प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले जानकारी दिनुभयो ।

लुम्बिनी प्रदेशको रुपन्देही, बुटवलका विभिन्न स्थानका गरिब तथा विपन्नलाई पनि त्यहाँका पालिका र जिल्ला विपत् व्यवस्थापन समितिले जाडोबाट जोगाउन न्यानो कपडा र दाउरा वितरण जारी राखिएको छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलले भन्नुभयो, “हामीले त प्रशासनमा सेवा लिन आउनेका लागि पनि परिसरमै आगो ताप्दै सेवा लिने व्यवस्था गरेका छौँ ।” 

स्थानीयलाई न्यानो बनाउन विपन्नको रेखदेखसँगै हुस्सु कुहिरोका कारण राजमार्गमा सवारी दुर्घटना रोक्न बिग्रेका बत्ती बनाउन थालिएको छ । प्रादेशिक अस्पतालमा चिसो लागेर आउने बिरामीको उपचारको व्यवस्था गर्दै सतर्क अवस्थामा राखिएको जानकारी उहाँले दिनुभयो । 

बढी शीतलहर चल्ने जिल्लालाई ध्यानमा राख्दै गर्दै राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आवश्यक समन्वयकारी भूमिका निर्वाह गरिरहेको छ । जिल्ला विपत् व्यवस्थापन समितिलाई सक्रिय पार्दै आवश्यक न्यानो सुविधा उपलब्ध गराउन निर्देशन दिइएको प्राधिकरणका प्रवक्ता शान्ति महतले जानकारी दिनुभयो । चिसोका कारण कसैको मृत्यु भएमा त्यसको चिकित्सकीय प्रमाणीकरणपछि केन्द्र सरकारका तर्फबाट दुई लाख रुपियाँ राहतस्वरूप उपलब्ध गराउने व्यवस्था रहेको छ । शीतलहरमा मधेश प्रदेशका सबै र अन्य जिल्लाका तराई छोएका जिल्ला अधिक प्रभावित हुने गरेका छन् ।