यज्ञप्रसाद सापकोटा
गुलरिया(बर्दिया) पुस १७ गते । बर्दियाको बढैयाताल गाउँपालिका वडा ८ मा रहेको श्री विद्याज्योती नमुना माध्यमिक विद्यालय कण्ठपुरमा ४५ जनाले ६१ लाख भन्दा बढी रकमको अक्षयकोष स्थापना गरेका छन् । विद्यालयको स्वर्ण जयन्तीको अवसरमा गरिएको आव्हानमा ४५ जनाले ६१ लाख ८३ हजार नौ सय ९३ रुपियाँ सहयोग गरेका छन् ।
विभिन्न उद्देश्यका लागि अलग अलग अक्षयकोष स्थापना गर्ने गरी अक्षयकोष रकम सहयोग गरेका हुन् । विद्यालयमा अध्ययन गरेको पूर्व विद्यार्थी, पूर्व शिक्षक, हाल कार्यरत शिक्षक र कर्मचारी, समाजसेवी अभिभावक लगाएतकाले अक्षयकोष स्थापना गर्नका लागि रकम सहयोग गरेका छन् ।
सबैभन्दा बढी रकम पाँच लाख पाँच रुपैया बराबरको अक्षयकोष स्थापना गर्नेमा विद्यालयका शिक्षक तथा कर्मचारी परिवार रहेका छन् भने व्यक्तीगत रुपमा लालबहादुर, देवुमाया, मनुमाया रमेश शाही मिना सिंह ठकुरीले तीन लाख एक हजार एघार रुपियाँको अक्षयकोष स्थापना गरेका छन् । ५६ हजार देखि पाँच लाख सम्मका ४५ ओटा अक्षयकोष स्थापना भएको विद्यालयका प्रधानाध्यापक भक्तिसागर रेग्मीले बताउनुभयो ।
हरेक व्यक्तीले आ आफ्नो व्यक्तीहरूको स्मृतीमा अक्षयकोष स्थापना गर्नु भएको छ । अलग अलग अक्षयकोषको लागि खाता व्यवस्थापन गरि अक्षयकोषको रकम स्थापना गरिने उहाँले बताउनु भयो । अक्षयकोष स्थापनाका लागि सहयोग गर्ने दाताहरूलाई स्वर्णमहोत्सव समारोहमा सम्मान गरिएको छ ।
अक्षयकोषका दाताहरूको इच्छा बमोजिम नै अक्षयकोषको नामाकरण गरिने र उहाँहरूले राखेको उद्देश्य बमोजिम नै व्याज रकम खर्च गरिने विद्यालयले जनाएको छ ।
त्यसैगरी स्वर्ण महोत्सव सञ्चालनका लागि १७ लाख २३ हजार रुपियाँ सहयोग सङ्कलन भएको छ । स्वर्ण महोत्सव मनाउनका लागि आर्थिक संकलन गर्ने अभियान अन्तर्गत करिब दुई जना व्यक्तित्वहरूले सहयोग गर्नु भएको विद्यालयका प्रधानाध्यापक रेग्मीले बताउनुभयो ।
स्वर्ण जयन्तीको अवसरमा विद्यालयले गत पुस ४ गते देखि विभिन्न कार्यक्रम गरेको थियो । आज बिहिबार स्वर्णमहोत्सव समारोहको आयोजना गरेको छ । स्वर्ण महोत्सव समारोहको उद्घाटन लुम्बीनी प्रदेशका समाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले गर्नुभएको थियो ।
विद्याज्योती नमुना माध्यमिक विद्यालय २०३२ सालमा कण्ठपुर क्षेत्रमा बस्ती बसेसँगै स्थापना भएको थियो । स्याउलाले बारेर शिक्षण सुरु गरिएको सो विद्यालय विभिन्न आरोहअवरोह पार गर्दै ५० औँ वसन्त पार गरेको छ ।