शेरबहादुर सार्की
बाजुरा, पुस १७ गते । बाजुराको बडीमालिका नगरपालिका–६ मा रहेको वीरे खोला बस्ती बुढीगङगा खोला कटानको जोखिममा पर्दै आएको छ ।
२०७७ साल साउन २८ गते बुढीगङ्गा खोलामा आएको बाढीले बस्ती कटान गर्दै आएपछि वीरे खोला बस्ती कटानको जोखिममा रहँदै आएको हो । यहाँ ४० घरपरिवारले विगत लामो समयदेखि बसोबास गर्दै आएका छन् ।
यहाँका ४० घरपरिवार खड्का र साउदको बसोबास छ । ती मध्येका अने साउद, लालसिङ साउद, विक्रम साउद, दाने साउद, लालबहादुर खड्का, प्रभते खड्का र बिर्ख खड्काको परिवार उच्च जोखिममा रहेका छन् ।
२०७७ सालमा यो खोलामा आएको बाढीले पारीपारि कटान गरेसँगै अहिले यो बस्ती खोला कटानको जोखिममा पर्दै आएको लालबहादुर खड्काले बताउनुभयो ।
अहिले हाम्रो समस्या भनेको बस्ती जोगाउनु पर्ने हो । यसका लागि हाम्रो धेरै ठाउँमा पहल गरेको हो । तर अहिलेसम्म कतैदेखि सुनुवाइ नभएको खड्काले बताउनुभयो । ‘यो बस्ती जोगाउनका लागि हामीले दश लाखको ग्याबिन राखेको थियौं’, बडीमालिका नगरपालिका–६ का वडाअध्यक्ष कृष्णबहादुर खड्काले भन्नुभयो, ‘२०७७ सालमा आएको बाढीले त्यो ग्याबिन बगाई दिएपछि अहिले त्यो पुरै बस्ती जोखिममा परेको छ ।’
बाजुरामा झण्डै १३५ जती बस्ती खोला बाढीपहिरोको उच्च जोखिममा रहेका छन् । बस्ती बस्न लायक नभएको प्रमाणित भएपछि बस्ती स्थानान्तरणको प्रक्रियाका अगाडि बढाउने जिल्ला विपद् व्यवस्थापन संयोजक तथा जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताउनुभयो ।