जीवछ यादव
लहान, पुस १७ गते । लहान नगरपालिका वडा नम्बर १ र २ मा रहेको मुसहर समुदायको बस्तीमा एक महिनामा पाँच युवकको मदिरा सेवन गरेर मृत्यु भएको छ । ४० वर्ष नकाट्दै मदिरा सेवन गरेर युवकहरुको मृत्यु हुँदै जाने समस्या समाधान गर्न यस बस्तीमा मदिरा बिक्री वितरणमा रोक लगाउन स्थानीय महिलाहरुले निरन्तर माग गर्दै आइरहेका छन् ।
लहान वडा नम्बर १ मटियर्वाका पतिराम सदाय, नन्दा सदाय, नथुनी सदाय सञ्जिव सदाय र विजय सदायले अत्यधिक मदिरा सेवन गरेकै कारण मृत्युको मुखमा पुगेपनि यस बस्तीको वरिपरि रहेका आधा दर्जनभन्दा मदिरा भठी बन्द गरेर यस बस्तीलाई जोगाउन लहान नगरपालिका र इलाका प्रहरी कार्यालय लहानसँग माग गर्दै आइरहेपनि बन्द नभएको मनसर सदायले गुनासो पोख्नुभयो ।
लहान १ मटियर्वाकी ३५ वर्षीय सुनिता सदाय भन्नुहुन्छ, ‘‘मदिरा बिक्रीमा रोक नलगाए मटियर्वा गाउँमा रहेको तीन सय घर परिवारको मुसहर समुदायको बस्तीमा ४० वर्ष उमेरका युवाहरु पाउनै मुस्किल छ । मेरो पति दिनको एक हजारभन्दा बढी कमाइ गनुहुन्छ तर राति घर आउँदा सबै मदिरा भठीमा खर्च गरेर आउने गर्नुहुन्छ । घरमा आएर होहलला गर्ने सम्झाउँदा हिंसा सहनुपर्ने अवस्था छ । कहिले कुन सरकार आए मटियर्वा गाउँमा मदिरा निशेध गर्नेछ ।’’
लहान नगरपालिकाले शीतलहरमा फाइवर सिरक र दाउरा अन्य वडाहरुमा वितरण गरेपनि यस बस्तीमा शीतलहरबाट मुसहर समुदाय यतिका पीडित भए पनि न सिरक न दाउरा न नालाको सरसफाई गर्दा ठुलो समस्यामा परेका स्थानीय मुसहर समुदायले गुनासो गरेका छन् ।
मुसहर समुदायको बस्तीबाट मदिरा निषेध गरियो भने मात्रै मटियर्वा गाउँका मुसहर समुदायको आर्थिक सामाजिक रुपमा विकास हुने देखिएको मानव अधिकारवादी राज कुमार राउतले भन्दै स्थानीय सरकार प्रहरी प्रशासनको ध्यान जानुपर्ने बताउनुभयो ।
यता लहान नगरपालिका प्रमुख महेश प्रसाद चौधरीले मटियर्वामा एक महिनामा पाँच जनाको मदिरा सेवनका कारण मृत्यु भएको छ । मदिरा बिक्री रोक्न ठुलो चुनौती रहेको बताउनुभयो । उहाँले भन्नुभयो,‘‘मदिरा बिक्रीमा रोक लगाउन बस्ती व्यवस्थापन र जनचेतनाको कार्यक्रम गर्न ठोस योजना ल्याउन लागेका छौँ । शीतलहरबाट जोगाउन माग अनुसारको दाउरा र न्यायनो लुगा समेत वितरण गर्नेछौँ ।’’