• १७ पुस २०८२, बिहिबार

बीपी राजमार्गबाट खैरो हिरोइनसहित पक्राउ

blog

प्रहरीले नियन्त्रणमा लिएको लागुऔषध खैरो हिरोइनसहित यसका कारोवारी । तस्बिर सौजन्य : लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबास

रवीन्द्र उप्रेती
बर्दीबास, पुस १७ गते ।
प्रहरीले बीपी राजमार्गबाट दुई सय ग्राम बढी तौलको खैरो हिरोइनसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङ विराटनगर महानगरपालिका–५ निवासी ३४ वर्षीय महम्मद समसिर रहेको प्रहरीले जनाएको छ । विशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिवास र इलाका प्रहरी कार्यालय भिमान, सिन्धुलीको संयुक्त सुरक्षा टोलीले समसिरलाई नियन्त्रणमा लिएको हो ।

ब्युरो प्रमुख सरोज अधिकारीका अनुसार काठमाडौँबाट राजविराजतर्फ जाँदै गरेको बा ५ ख १९६७ नम्बरको हायस गाडीलाई बुधबार साँझ बीपी राजमार्गमा चेकजाँच गर्दा गाडीको पछिल्लो सिटमा बसेका समसिरले लगाएको जिन्स पाइन्टको अगाडिको दायाँ गोजीबाट सेतो रङका दुई वटा प्लास्टिकमा प्याक गरी लुकाइछिपाइ ल्याइएको खैरो हिरोइन बरामद भएको थियो ।

बरामद खैरो हिरोइनको तौल मान्यता प्राप्त तराजुमा जोख्दा प्लास्टिकसहित २०१.६९० ग्राम र प्लास्टिक बाहेक शुद्ध तौल १९५.५९० ग्राम रहेको ब्युरो प्रमुख अधिकारीले जनाउनुभयो ।  

पक्राउ परेका समसिरमाथि थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि लागुऔषध नियन्त्रण ब्युरो शाखा बर्दीबासले इलाका प्रहरी कार्यालय भिमान, सिन्धुलीमा बुझाइएको जनाएको छ ।