मकवानपुर समाचारदाता
मकवानपुर, पुस १७ गते । बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश समितिका सभापति इन्द्रबहादुर बानियाँले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई सफल बनाउन सहयोग गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ ।
उहाँले निर्वाचनलाई सफल बनाउन संविधानले व्यवस्था गरेको प्रदेशको अस्तित्वलाई पनि स्वीकार गरेर सङ्घीय सरकारले समन्वय र सहकार्य गर्नुपर्ने भन्दै निर्वाचनमा सबै पक्षको सहयोग जुटाउन आवश्यक भएको बताउनुभयो ।
कांग्रेस मकवानपुरले ५० औँ राष्ट्रिय मेलमिलाप दिवसको सन्दर्भमा बुधबार हेटौँडामा आयोजना गरेको कार्यव्रmममा उहाँले निर्वाचनबाट कांग्रेस नभाग्ने स्पष्ट गर्नुभयो । निर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो र प्रदेश सरकार पनि निर्वाचनालाई सहयोग गर्न तयार रहेको उहाँको भनाइ छ । निर्वाचनको वातावरण बनाउनु सङ्घीय सरकारको दायित्व भएको उहाँले उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “गत भदौमा भएको आन्दोलनका व्रmममा लुटिएका हतियार अझै फिर्ता भइसकेका छैनन् । कारागारबाट भागेका कैदीबन्दी पनि बाहिरै छन् । सुरक्षा अवस्था कमजोर छ,” मुख्यमन्त्री बानियाँले भन्नुभयो, “शान्तिसुरक्षाको अवस्था कमजोर छ, यस्तो अवस्थामा निर्वाचन हुनेमा अझै आशङ्का छ । निर्वाचनका लागि उचित वातावरण निर्माण गर्नु सरकारको जिम्मेवारी हो ।”
गणतन्त्र मास्न खोज्नेले पार्टी कार्यालयदेखि व्यक्तिका सम्पत्तिसम्म तोडफोड र आगजनीमा लाग्ने पक्षलाई जबसम्म कानुनी दायरामा ल्याइँदैन, तबसम्म निर्वाचन हुने अवस्था त्यति सहज छैन, उहाँले भन्नुभयो, “यो अवस्थामा निर्वाचन हुन सजिलो भने छैन । जेनजीको माग र प्रदर्शनीका व्रmममा सामाजिक सञ्जाल बन्द नगरियोस्, भ्रष्टाचारमुक्त शासनको माग थियो तर माग एकातिर, कार्य अर्कोतिर भयो । त्यो बेलाको अकल्पनीय घटना थियो ।” उहाँले कांग्रेस राष्ट्रियताका सवालमा दृढ रहेको भन्दै अहिले गणतन्त्रवादी विचार भएका सबै पार्टीबिच एक भएर सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो, कसिलो र स्थायित्व प्रदान गर्नु आवश्यक भएकोमा जोड दिनुभयो । “सङ्घीयतालाई बलियो बनाउने धर्म हाम्रो हो । कांग्रेसले यो व्यवस्थालाई अङ्गीकार र स्वीकार गरेको छ । यो बेला मेलमिलापको आवश्यकता रहेको भन्दै उहाँले राष्ट्रवादीसँगै गणतन्त्रवादी शक्ति एकै ठाउँमा उभिएर लडाइँ लड्नुपर्ने समय आएको छ,” मुख्यमन्त्रीले भन्नुभयो ।
कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले कांग्रेस आफ्नो अधिवेशनको तयारीमा रहेको भन्दै देशलाई सबै मिलेर नयाँ गन्तव्यतर्फ लैजानु अहिलेको आवश्यकता भएको बताउनुभयो । कांग्रेस मकवानपुरका निवर्तमान कार्यवाहक सभापति विष्णु लामिछानेले बिपी कोइरालाको मेलमिलापको नीतिको अहिले पनि सान्दर्भिकता रहेको भन्दै देशका सबै पक्षबिच राष्ट्रियता र लोकतन्त्रको रक्षाका लागि एकता आवश्यक रहेको धारणा राख्नुभयो ।
भयरहित अवस्थामा निर्वाचन हुनु पर्छ
नारायणगढ समाचारदाताका अनुसार बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गराउन प्रदेश सरकार समन्वय र सहकार्य गर्न तयार रहेको बताउनुभएको छ ।
इलाका प्रहरी कार्यलय खैरेहनीको नवनिर्मित भवनको बुधबार उद्घाटन गर्दै मुख्यमन्त्री बानियाँले सङ्घीय सरकार निर्वाचनको वातावरण तयार गर्न लाग्नुपर्ने धारणा राख्नुभयो । “भयरहित वातावरणमा निर्वाचन गराउन सङ्घीय सरकार लागे बागमती प्रदेश सरकार समन्वय र सहकार्य गर्न तयार छ,” उहाँले थप्नुभयो, “निर्वाचनको मिति आइसकेको छ, वातावरण बनाउन सङ्घीय सरकार लाग्न जरुरी छ । भयरहित अवस्थामा जनतालाई निर्वाचनमा भाग लिने वातावरण निर्माण गर्नुपर्ने छ ।”
कार्यव्रmममा बोल्दै उहाँले सुरक्षा निकायले भयरहित वातावरणमा निर्वाचन गराउन पहल गर्नुपर्ने बताउनुभयो । राजनीतिक परिवर्तन गर्नेबाट प्रहरीका भवन जलाउने काम भएको गुनासो गर्दै उहाँले सबैका लागि न्याय बराबर दिने प्रहरीको संरक्षण सबैबाट हुनुपर्नेमा जोड दिनुभयो । मुख्यमन्त्री बानियाँले संविधान अनुसार नेपाल प्रहरी प्रदेश सरकार मातहतमा आउनुपर्ने बताउनुभयो । प्रहरीको व्यवस्थापनका लागि सहअस्तित्व स्वीकार्नु पर्छ । सहअस्तित्व अनुसार नै प्रहरीका भवन बनाउन सहयोग गरिएको छ, उहाँले भन्नुभयो ।
जेनजी समूहको आन्दोलनका व्रmममा भत्किएका र जलाइएका संरचना बनाउन एक अर्ब बजेट विनियोजन गरेको पनि मुख्यमन्त्री बानियाँले जानकारी दिनुभयो । इलाका प्रहरी कार्यालय खैरेहनी, चितवनको नवनिर्मित भवन बागमती प्रदेश सरकारको पाँच करोड ८५ लाख रुपियाँको बजेटबाट निर्माण भएको हो । सो बजेटले इलाका प्रहरी कार्यालय खैरेहनीको कार्यालय, ब्यारेक भवन, भान्साघर तथा कम्पाउन्ड पर्खाल निर्माण गरिएको छ । सो अवसरमा आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज अधिकारीको पनि उपस्थिति थियो ।