बाबुराम कार्की
वराहक्षेत्र, पुस १७ गते । जाडोयाम सुरु भएसँगै पूर्वी नेपालको तराई क्षेत्रमा भक्काको व्यापार सुरु भएको छ । जाडोसँगै तराईका शहर र ग्रामीणक्षेत्रमा भक्काको व्यापार बढ्दै गएको हो । असोजबाट सुरु गरिने भक्काको व्यापार पूर्वी तराईमा बिहान र दिउँसोको खाजाकौ रुपमा तातो भक्का बढी बिक्री हुने गरेको छ । तराई क्षेत्रमा जाडो बढ्दै गएपछि भक्काको व्यापार बढी हुने गरेको बताइन्छ ।
पूर्वी नेपालको प्रमुख शहरहरु इटहरी, विराटनगर, दमक, विर्तामोडदेखि सीमा काकरभिट्टा र ग्रामीण बस्तीहरुका सडक किनारमा भक्का पकाएर बेच्ने बढ्दै गएका छन् । प्रति गोटा दस रुपियाँदेखि साइजअनुसार पाउने हुँदा जाडोमा ताजा र तातो भक्का खानुको माजानै बेग्लै हुने गरेको विराटनगर पोखरियाकी अजिता भट्टराई बताउनुहुन्छ ।
चामलको पिठोबाट तातो पानीको बाफमा राखेर तयार गरिने रैथाने खाना भक्का पोसिलो, स्वादिलो र आडिलो हुने हुँदा पारखीहरु जाडोमा भक्का खान आउने गरेको वारहक्षेत्र राजावासकी रिन्कु मुखिया बताउनुहुन्छ । चौध वर्षदेखि राजावास प्रकाशपुर क्षेत्रमा भक्का बनाएर बेच्दै आउनु भएकी मुखिया भन्नुहुन्छ, “चिल्लो पर्दाथ र कुनै मरमसला बिना पानीको बाफमा पकाएर तयार गरिने हुँदा बच्चादेखि वृद्धसम्मले मन पराएर खाने गरेका छन् । जाडोमा तातो खाजाको रुपमा टमटर, धनिया, खोर्सानी मिसाएर तयार गरिएको आचारले भक्काको स्वादलाई खुलाउने गरेको छ ।’’
पूर्वी नेपालको तराई क्षेत्रको ग्रामीण बस्तीहरु र शहरमा बिहानी झिसमिसेदेखि नै सडक किनारमा बसेर भक्का बनाएर बेच्चनेहरु बढ्दै गएका छन् । खाजाको रुपमा बिहान र दिउँसो भक्का खानेहरु बढी हुने गरेको बताइन्छ । माटाको हण्डीमा पानी उमालेर चामालको पिठोलाई सेतो सुतीको कपडामा बेरेर बाफमा पकाइने भक्का प्रति गोटा ठाउँअनुसार दस देखि १५ रुपियाँम्म बिक्री हुने गरेको भक्का बेच्दै आउनु भएकी रेन्कु मुखियाले बताउनुभयो ।
राजवंशी समुदायको मौलिक परिकार भक्का भएकाले नौ वर्षदेखि पुस २९ गते झापामा राजवंशी समुदायले विशेष आयोजना गरी भक्का दिवस मनाउँदै आएका छन् ।