धर्बेन्द्र झा
जनकपुरधाम, पुस १६ गते। मधेश प्रदेशमा अगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि जनकपुरधाममा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ।
मधेश प्रदेश निर्वाचन कार्यालयकै भवनमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयले मधेश प्रदेशमा चार वटा सिटका लागि निर्वाचन गराउने छ।
निर्वाचनबाट महिला एक जना, दलित एक जना, अपाङ्ग भएका व्यक्ति/अल्पसंख्यक समूह वाट एक जना र अन्य समूहबाट एक जना गरी चार जना निर्वाचित हुने जिल्ला अदालत धनुषाका न्यायाधीश एवम् राष्ट्रिय सभा सदस्य निर्वाचन अधिकृत सुभास बाबु पुरीले जानकारी दिनुभयो।
मधेश प्रदेशमा प्रदेशसभाका १०७ जना प्रदेशसभा सदस्य र १३६ वटा पालिकाका प्रमुख र उपप्रमुख गरी २७२ जना गरी १० हजार ३९ मत भार रहेको प्रदेश निर्वाचन कार्यालय मधेश प्रदेशले जनाएको छ। धनुषाको जनकपुधाम उपमहानगरपालिका वडा नं.४ स्थित रहेको श्री महेन्द्र नारायण नीधि मिथिला सांस्कृतिक केन्द्रमा दुई वटा मतदान केन्द्र स्थापना गरी माघ ११ गते निर्वाचन हुने प्रदेश निर्वाचन कार्यालय मधेश प्रदेशका प्रमुख रोमबहादुर महतले जानकारी दिनुभयो।
अगामी माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदानका लागि समय निर्धारण भएको छ। राष्ट्रिय सभा सदस्य निर्वाचन अधिकृतको कार्यालय स्थापना कार्यक्रममा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेलसहित जिल्ला सुरक्षा अधिकारीको उपस्थिति रहेको थियो।