• १६ पुस २०८२, बुधबार

‘लोकतान्त्रिक शक्तिबिच सहकार्य आवश्यक छ’

blog

मन्तव्य राख्दै नेकपाका नेता देवप्रसाद गुरुङ । तस्बिरः नवीनराज कुइँकेल

नवीनराज कुइँकेल

लमजुङ, पुस १६ गते । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता देवप्रसाद गुरुङले राष्ट्रियता, संविधान र लोकतन्त्रको पक्षमा रहेका शक्तिबिच सहमति र सहकार्य आवश्यक रहेको बताउनु भएको छ । 

लमजुङको मर्स्याङ्दी गाउँपालिका –३ खुदीमा बुधबार आयोजित बेपत्ता तेजबहादुर भण्डारीको २४ औं स्मरण कार्यक्रममा नेता गुरुङले देशमा देखापरेको परिस्थितिको सामना गर्न र संविधानको रक्षा गर्न लोकतान्त्रिक शाक्तिबिच एकता आवश्यक रहेको बताउनु भयो । 

उहाँले भन्नुभयो, “देश र राजनीति यही अवस्थामा गएमा देश युक्रेनको अवस्थामा पुग्न सक्छ । देश बचाउन, संविधान बचाउन र शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन राष्ट्रिय सहमति आवश्यक छ । एजेन्डागत रूपमा सहमति र सहकार्य आवश्यक पर्छ ।”

उहाँले विस्तृत शान्ति सम्झौतामा सहभागी भएका राजनीतिक दलहरूबिच कम्तिमा सहमति नभई शान्ति प्रक्रियाको काम निष्कर्षमा पुग्न नसक्ने बताउनु भयो । विश्वमा शान्ति नचाहने शक्तिले नेपालमा पनि शान्ति प्रक्रियालाई भड्काउने प्रयास गरिरहेको दाबीसमेत उहाँले गर्नुभयो । 

मुलुकको आन्तरिक मामिलामा चलखेल गरेर उनीहरूले शान्ति प्रक्रियाको बाँकी कामलाई अघि बढाउन नदिएको गुरुङको भनाइ छ । नेता गुरुङले दलहरूबिच राष्ट्र र राष्ट्रियताको सवालमा समान धारणा बनाएर अघि बढ्नुपर्ने खाँचो औँल्याउनु भयो ।

बेपत्ता तेजबहादुर भण्डारीको अबस्था बेपत्ता भएको २४वर्षसम्म पनि अज्ञात रहेको छ । मर्स्याङ्दी–९ सिम्पानी भलाम घर हुनुभएका भण्डारीलाई २०५८ पुस १६ गते बेँसीसहरको मनाङे चौतारानजिकबाट तत्कालीन संयुक्त सुरक्षा फौजले पक्राउ गरेयता परिवारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा आवाज उठाइ रहे पनि उहाँको अवस्था अझ अज्ञात छ ।

शिक्षक, सामाजिक अगुवा र सचेतनाका बाहक भण्डारी स्मरणमा हरेक वर्ष पुस १६ गते कार्यक्रम गरिँदै आएको छ । बुधबार पनि सहिद तथा बेपत्ता स्मृति प्रतिष्ठानले खुदीमा कार्यक्रमको आयोजना गरी भण्डारीको स्मरण गर्दै २४ औं स्मृति दिवस मनाएको हो । 

शहीद तथा बेपत्ता स्मृति प्रतिष्ठानका अध्यक्ष दयासागर घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा (एमाले) मर्स्याङदी गाउँ कमिटीका अध्यक्ष प्रेमबहादुर बस्नेत, नेकपाका नेताद्वय सुनिल सुनार, होमबहादुर विश्वकर्मा, वडा ३ का अध्यक्ष दुधमान तामाङ, पूर्व शिक्षकद्वय तिर्थबहादुर बस्नेत, रामप्रसाद सुवेदी लगायतले बेपत्ता तेजबहादुर भण्डारीको अबस्था सार्वजनिक गर्न सरकारसँग माग गर्नुभयो ।