• १५ जेठ २०८१, मङ्गलबार

अन्तर्राष्ट्रिय बजारमा नेपालको प्रवर्द्धन गर्न कुटनीतिज्ञको भुमिका महत्वपूर्ण : मन्त्री श्रेष्ठ

blog

विभिन्न देशका राजदुतहरुसँग मन्त्रालयले सोमबार गरेको अन्तरक्रिया कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ । तस्बिर : गोरखापत्र

काठमाडौं, असार २७ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले अन्तर्राष्ट्रिय बजारमा नेपालको प्रवर्द्धनका लागि कुटनीतिज्ञहरुको भुमिका महत्वपूर्ण हुने बताउनुभएको छ ।

हालै नियुक्त तथा प्रस्तावित विभिन्न देशका राजदुतहरुसँग मन्त्रालयले सोमबार गरेको अन्तरक्रिया कार्यक्रममा मन्त्री श्रेष्ठले नेपालमा विदेशी पर्यटकको आगमन बढाउन कुटनीतिज्ञहरुको भुमिका महत्वपुर्ण हुने बताउनुभयो । विदेशस्थित सबै नियोग परिचालन गरेर नेपालमा विदेशी पर्यटकको आगमन बढाउन सकिने मन्त्री श्रेष्ठले बताउनुभयो । 

सबैको पहलमा विदेशी पर्यटक भित्र्याउन सके महामारीबाट थलिएको पर्यटन क्षेत्रले गति लिने विश्वास उहाँले व्यक्त गर्नुभयो । राजदुतावास, स्थायी नियोग, महावाणिज्य दुतावास तथा अवैतनिक बाणिज्य दुतावासहरुले पर्यटक आकर्षित गर्ने खालका कार्यक्रम ल्याउनुपर्नेमा उहाँले जोड दिनुभयो । राजदुतहरुले व्यापार, लगानी , पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तारमा भुमिका खेल्नुपर्ने उहाँको भनाइ छ । 

पर्यटन विस्तारका लागि हवाइ उडानको भुमिका महत्वपुर्ण हुने बताउनुहुँदै उहाँले सरकारले हवाई यातायात र विमानस्थलहरलाई सुरक्षामैत्री बनाउने बताउनुभयो । नेपालको हवाई उडानलाई ईयूको ‘सुरक्षा चासो’को सूचीबाट हटाउन पहल गर्ने उहाँले बताउनुभयो । 

साथै उहाँले छिमेकी मुलुक भारतलाई नयाँ हवाई प्रवेश बिन्दु खुला गरिदिन आग्रह गरिएको बताउनुहुँदै आफ्नो कार्यकालमा नयाँ प्रवेश बिन्दु खुला हुने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा नवनियुक्त तथा प्रस्तावित राजदुतहरुले नेपालको पर्यटन विस्तारका लागि प्रवर्द्धनात्मक कार्यक्रमहरु गर्ने प्रतिवद्धता जनाउनुभएको थियो ।