• १६ पुस २०८२, बुधबार

ट्रकको ठक्करबाट सडक मजदुरको मृत्यु

blog

गुणबहादुर रोका 

सुलीकोट, पुस १६ गते । गोरखाको बारपाक–लाप्राक सडक खण्डमा ट्रकको ठक्करबाट एक मजदुरको मृत्यु भएको छ । सोमबार बारपाकबाट लाप्राकतर्फ जाँदै गरेको ना. ५ ख. ९२७१ नम्बरको ट्रकले ठक्कर दिँदा उदयपुरको बेलका नगरपालिका–४, लालबजार घर भई सडकको काम गर्न आएका ४० वर्षीय दीपककुमार राई घाइते हुनु भएको थियो । 

घाइते राईको उपचारको क्रममा बुधबार बिहान चितवनस्थित पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक राजन लम्साल बताउनु भयो । 

उहाँका अनुसार मृतक राईको टाउको र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो । घट्नापछि ट्रक चालक सहिद लखन गाउँपालिका–७ का इन्द्रबहादुर विकलाई प्रहरीले नियन्त्रमा लिई आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको तथा घट्नाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक लम्सालको भनाइ छ । 

स्थानीयवासीका अनुसार उक्त सडक खण्डमा निर्माण कार्य भइरहेकाले सवारी साधन चलाउँदा थप सावधानी अपनाउनु पर्ने भए पनि लापारबाहीका कारण दुर्घटना हुने गरेको गुनासो छ । मृतक राई केही समयदेखि बारपाक–लाप्राक सडक आयोजनामा मजदुरी गर्दै आउनु भएको थियो ।